पर्सामा एक महिनामै ११८ अपराधका घटना दर्ता, १२२ जना पक्राउ

अदालतको फैसला कार्यान्वयनका क्रममा ८५ जना पक्राउ, लागुऔषधका १४ मुद्दामा १७ जना समातिए

पर्सा । पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका ११८ वटा आपराधिक घटनासम्बन्धी उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका फरार प्रतिवादी तथा घटनामा संलग्न रहेको आरोप लागेका गरी १२२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार कात्तिक महिनामा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ वटा घटना दर्ता भएका छन् ।

यसैगरी, अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दासँग सम्बन्धित ८५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने निर्णय भएको डीएसपी मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार कात्तिक महिनामा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैङ्किङ कसुरका १४ तथा ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन् ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एक महिनामा १४ वटा मुद्दा दर्ता गरी संलग्न रहेको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ । पक्राउ तथा अनुसन्धानका क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुलसमेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

लागुऔषध दुरुपयोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले उक्त अवधिमा ३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रमबाट ५१४ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा अपराध न्यूनीकरण, शान्तिसुरक्षा कायम तथा आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको जनाएको छ । यसका लागि विभिन्न स्थानमा सीसीटीभी जडान, क्यूआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जालको निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई तीव्रता दिइएको छ ।

त्यसैगरी, आकस्मिक घटनामा तत्काल प्रहरी परिचालन गर्न मोबाइल क्विक रेस्पोन्स टोली खटाइएको छ भने सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतका गतिविधि र घटनामा संलग्नताको विवरण विश्लेषण गरी ३५ वटा आपराधिक प्रोफाइलसमेत तयार पारेको डीएसपी मल्लले जानकारी दिए ।

प्रहरीले निगरानी, अनुसन्धान, नियमित गस्ती र प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै जिल्लामा शान्तिसुरक्षा कायम गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

Facebook Comments Box
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)…

TOP
30 Shares