ओलीको चेतावनी : प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गराउन मिल्दैन, खर्चको बहानामा संविधान मिच्न पाइँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानुनविपरीत प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैपटक गराउने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् ।

बिहीबार मूलधारका सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको अन्तर्क्रियामा ओलीले संविधानले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेकाले निर्धारित कार्यकाल पूरा नभई निर्वाचन गराउन नमिल्ने बताएका हुन् ।

उनले खर्च कम गर्ने नाममा संविधान र कानुनको व्यवस्था उल्लंघन गर्न नपाइने स्पष्ट पारे । यदि सरकारले निर्वाचन खर्चको कारण देखाउँदै प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गराउन खोजेको हो भने आगामी मंसिरमै संघ र प्रदेश दुवैको निर्वाचन गराउनुपर्ने उनको तर्क थियो ।

‘संविधानले प्रदेश र स्थानीय तहको कार्यकाल पाँच वर्ष भनेको छ । त्यसअनुसार दुवै तहले पाँच वर्ष काम गर्न पाउनुपर्छ । यदि दुवैको एकैपटक चुनाव गराउन खोजेको हो भने संविधान र कानुनअनुसार कार्यकाल पूरा नभई सम्भव छैन,’ ओलीले भने ।

उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन निश्चित प्रक्रिया र संवैधानिक व्यवस्थाअनुसार हुनुपर्ने भन्दै खर्चको बहाना बनाएर निर्वाचन प्रक्रिया प्रभावित गर्न नहुने बताए ।

‘१५–१६ अर्ब खर्च हुन्छ रे ! त्यसो भए सरकार छँदै छ, किन चुनाव गराउने ? देश आगो लगाउन्जेल खर्च भएन । चुनाव गराउनुपर्छ भन्दा खर्च हुन्छ भनेर हुन्छ ?’ ओलीले प्रश्न गरे ।

निर्वाचनमा विगतकै परिणाम दोहोरिने आकलन गर्नु गलत हुने टिप्पणी गर्दै ओलीले अहिलेको राजनीतिक परिस्थिति र अघिल्लो निर्वाचनको अवस्थाबीच धेरै परिवर्तन आइसकेको बताए ।

‘भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेजस्तै अझै थुप्रैलाई फेरि पनि २१ फागुनकै जस्तो परिणाम आउँछ भन्ने लागेको हुन सक्छ । तर चुनावमा के हुन्छ भन्ने कसैले चिन्ता नगर्दा हुन्छ । पहिले र अहिलेको परिस्थितिमा धेरै फेरबदल आइसकेको छ,’ उनले भने ।

यसैगरी, ओलीले प्रेस स्वतन्त्रतामाथि सरकारबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्ने घटनाको निन्दा गरे । उनले पञ्चायतकालमा समेत अहिलेको जस्तो सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि दमन नभएको टिप्पणी गरे ।

प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणबारे पनि ओलीले प्रश्न उठाए । उनले भ्रमणअघि राष्ट्रपति, विपक्षी दल, विज्ञ तथा पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कसैसँग सुझाव नलिएको आरोप लगाए ।

ओलीले प्रधानमन्त्रीको भारत भ्रमणलाई राजकीयभन्दा निजी भ्रमणको संज्ञा दिँदै त्यसबाट कुनै ठोस उपलब्धि हासिल नभएको दाबी गरे ।

‘उहाँले कसैसँग सुझाव लिन आवश्यक ठान्नुभएन । त्यसैले उहाँको भ्रमणलाई देश र जनताको समर्थन नभएकाले त्यो उहाँको निजी भ्रमण थियो, राजकीयजस्तो थिएन,’ ओलीले भने ।

भारतले प्रधानमन्त्री नेपाल नफर्किंदै जारी गरेको वक्तव्य र भारतीय विदेशसचिवको प्रतिक्रियाले पनि भ्रमणको उपलब्धि नदेखिएको उनको भनाइ थियो ।

ओलीका अनुसार भारतीय विदेशसचिवले सीमा समस्याबारे कुनै छलफल नभएको बताएका थिए भने लिपुलेकको विषयलाई चीन र भारतबीचको सवालका रूपमा प्रस्तुत गरेका थिए ।

Facebook Comments Box
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
२ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्नुपर्ने…

TOP
15 Shares