पूर्वमन्त्री मातृका यादवका नाति १३ लाख ७० हजार ठगीको आरोपमा पक्राउ

राजनीतिक दबाबका कारण पक्राउको विवरण सार्वजनिक गर्न प्रहरीको आनाकानी गरेको स्रोतको दाबी

सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। करिब २५ वर्षीय यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ निवासी यादवले सोही वडाका गुलाम गौस (अली) लाई आमा बिरामी रहेको भन्दै पटक–पटक रकम मागेर १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको आरोप छ। पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यादवले पीडितबाट खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ। पटक–पटक रकम फिर्ता माग्दा यादवले आजभोलि भन्दै आश्वासन दिने गरे पनि हालसम्म रकम फिर्ता नगरेपछि आफू प्रहरीको शरणमा पुगेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्।

यादवमाथि गुलाम गौससँग मात्र नभई अन्य धेरै व्यक्तिसँग समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ। प्रहरीले उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनामा पक्राउको समय र सूचना सार्वजनिक गर्ने विषयसमेत विवादमा परेको छ। स्रोतका अनुसार प्रहरीले गत आइतबार नै यादवलाई पक्राउ गरे पनि राजनीतिक दबाबका कारण पक्राउबारे सार्वजनिक गर्न आनाकानी गरेको थियो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले भने मिर्चैया प्रहरीले पाँच दिनअघि नै यादवलाई पक्राउ गरे पनि आफूलाई पक्राउसम्बन्धी विवरण आज मात्रै प्राप्त भएको बताए।

सूचना अधिकारी पालका अनुसार यादवमाथि एक जना व्यक्तिको मात्रै नभई अन्य धेरै व्यक्तिबाट समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, पूर्वमन्त्री मातृका प्रसाद यादवले पक्राउ परेका आफ्ना नातिलाई छुटाउन राजनीतिक दबाब बढाइरहेको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

प्रहरी अनुसन्धान जारी रहेकाले यादवमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ।

Facebook Comments Box
एसपी बिदामा रहृको मौका छोपी,डिएसपीको मनोमानी जिप्रकाबाट बेपता तस्कर अझै फेला परेनन्
२ दिन अगाडि

1.5kViews 30 Shares Share on Facebook Share on Twitter पर्साका एसपी बिदामा रहेको मौका छोपी जिल्ला प्रहरीको प्रवक्ता समेत रहेका…

TOP
15 Shares