
प्रहरी अनुसन्धान कि सत्ताको निजी प्रयोगशाला?
गोप्य अडियो चुहाउने, प्रमाण खोस्ने र अनुसन्धानमा हस्तक्षेप गर्नेहरूलाई उन्मुक्ति कहिलेसम्म?

नेपाल प्रहरी कुनै राजनीतिक दलको भ्रातृ संगठन होइन, न त प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका अधिकारीहरूको निजी आदेश पालना गर्ने कार्यालय हो। प्रहरी राज्यको कानुन कार्यान्वयन गर्ने संस्था हो। यसको अनुसन्धान प्रक्रिया संविधान, कानुन र विधिको शासनअनुसार चल्नुपर्छ। तर, पछिल्लो ईनम सापकोटा प्रकरणले नेपाल प्रहरीको अनुसन्धान प्रणालीमाथि मात्रै होइन, राज्य सञ्चालनको शैलीमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ।
एउटा व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका मोबाइल फोन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा पुग्छन्। मोबाइलसँगै पासवर्डसमेत पठाइन्छ। अनुसन्धानमा संलग्न अधिकारीहरूको जानकारी र संलग्नताबिना यस्तो भएको हो भने यो सामान्य प्रशासनिक त्रुटि होइन, प्रमाणको सुरक्षा र अनुसन्धानको स्वतन्त्रतामाथिको गम्भीर प्रश्न हो। प्रहरी नेतृत्वको दबाबपछि मोबाइल फिर्ता आएको भनिए पनि प्रश्न उस्तै छ। अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रमाण प्रधानमन्त्रीका सल्लाहकारको घरसम्म कसरी पुग्यो? कसको आदेशमा पुग्यो? त्यसबीच मोबाइलमा के भयो? त्यसको डिजिटल फरेन्सिक परीक्षणको विश्वसनीयता कसरी सुनिश्चित गरियो?
राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले यी प्रश्नको जवाफ दिनुपर्छ। किनकि अनुसन्धानका क्रममा बरामद भएका मोबाइल, डिजिटल प्रमाण र बयान कुनै व्यक्तिको निजी सम्पत्ति होइनन्, ती सम्भावित प्रमाण हुन्। प्रमाणको सुरक्षा गर्नु प्रहरीको दायित्व हो। तर प्रमाण नै राजनीतिक पहुँचका आधारमा ओसारपसार हुने अवस्था आयो भने अनुसन्धानको निष्पक्षतामाथि नागरिकले कसरी विश्वास गर्ने?
अझ गम्भीर विषय अनुसन्धानको गोपनीयता हो। ईनम सापकोटाको भनिएको अडियो बयान, सम्पर्क विवरण र अनुसन्धानसँग जोडिएका संवेदनशील सूचना एकपछि अर्को गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। अनुसन्धान पूरा नभई बयान सार्वजनिक हुनु, कसले कसलाई फोन गर्यो भन्ने विवरण बाहिरिनु र आरोपित व्यक्तिका भनाइलाई नै अन्तिम सत्यजस्तो गरी प्रचार गर्नुले न्यायिक प्रक्रियालाई प्रभावित पार्न सक्छ।
कानुनले अनुसन्धानका क्रममा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। तर, त्यो व्यवस्था कागजमा मात्रै सीमित हुने हो? अनुसन्धानको जिम्मा पाएका अधिकारीहरूले सूचना सुरक्षित राख्न नसक्ने हो भने जिम्मेवारी कसले लिने? प्रहरी मुख्यालयले सूचना चुहावटबारे छानबिन नगर्ने हो भने प्रहरीभित्रको जवाफदेहिता कहाँ खोज्ने?
प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका अधिकारीहरू अनुसन्धान भइरहेको प्रहरी कार्यालयमा पुगेर अनुसन्धान अधिकृतसँग चासो राख्नु आफैँमा प्रश्नरहित विषय होइन। सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनको पालना भएको छ कि छैन भनेर चासो राख्न सक्छन्। तर त्यो चासो अनुसन्धानलाई प्रभावित पार्ने, प्रमाणमा पहुँच राख्ने वा अनुसन्धान अधिकृतलाई दबाब दिने तहसम्म पुग्नु हुँदैन। राज्यको कार्यकारी नेतृत्वले प्रहरीलाई जवाफदेही बनाउनुपर्छ, आफ्नो इच्छाअनुसार अनुसन्धानको दिशा बदल्ने अधिकार ठान्नु हुँदैन।
प्रधानमन्त्रीको सचिवालयमा काम गर्ने व्यक्ति हुनु अनुसन्धानमा हस्तक्षेप गर्ने अधिकारपत्र होइन। गृहमन्त्रीको स्वकीय सचिव हुनु प्रमाण हेर्ने, अनुसन्धानको विवरण माग्ने वा प्रहरी अधिकृतलाई निर्देशन दिने स्वतः प्राप्त अधिकार पनि होइन। राज्यका संस्थाहरू व्यक्तिको पहुँच र निकटताबाट होइन, कानुनी अधिकार र जिम्मेवारीबाट सञ्चालन हुनुपर्छ।
यस प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, प्रहरीका उच्च अधिकारी र राजनीतिक नेतृत्वसँग जोडिएका सम्पर्क विवरण सार्वजनिक भइरहेका छन्। यी सम्पर्कका आधारमा कसैलाई दोषी करार गर्न मिल्दैन। तर, अनुसन्धानले देखाएका तथ्य र सम्भावित संलग्नताबारे निष्पक्ष छानबिन हुनैपर्छ। पद, प्रतिष्ठा, राजनीतिक निकटता वा शक्ति सम्बन्धका आधारमा कसैले उन्मुक्ति पाउनु हुँदैन। त्यस्तै, अपुष्ट अडियो र अपूर्ण विवरणका आधारमा कसैको चरित्रहत्या गर्ने छुट पनि कसैलाई छैन।
यहीँनेर नेपाल प्रहरीको व्यावसायिक स्वतन्त्रताको प्रश्न जोडिन्छ। प्रहरी संगठनभित्र आदेश र कमान्डको आफ्नै शृङ्खला हुन्छ। अनुसन्धान अधिकृतले कानुनअनुसार काम गर्न पाउनुपर्छ। तर, राजनीतिक नेतृत्वको सचिवालयबाट आउने अनौपचारिक निर्देशन, बारम्बारको चासो र प्रमाणमाथिको पहुँचले प्रहरीको आन्तरिक कमान्ड प्रणालीलाई कमजोर बनाउँछ। अनुसन्धान अधिकृतले कानुन मान्ने कि शक्तिकेन्द्रको संकेत बुझ्ने भन्ने द्विविधामा काम गर्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि खतरनाक संकेत हो।
यसैबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कार्यकाल बाँकी रहँदै जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको घटनाले पनि प्रहरीको संस्थागत स्वायत्तताबारे बहस जन्माएको छ। उनको सरुवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यस विषयको कानुनी निरूपण अदालतबाटै हुनुपर्छ। तर, ईनम प्रकरण, प्रहरी नेतृत्वमा भएको परिवर्तन र अनुसन्धानमाथि उठेका हस्तक्षेपका प्रश्नलाई अलग-अलग राखेर हेर्न सकिँदैन। यी घटनाले प्रहरी संगठनभित्रको नेतृत्व, कमान्ड र संस्थागत स्थायित्वबारे गम्भीर बहस आवश्यक बनाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र राज्यका निकायमा सुधारको प्रतिबद्धता जनाएको छ। तर सुशासनको अर्थ शक्तिशाली व्यक्तिले चाहेको अनुसन्धान गराउनु होइन। सुशासनको पहिलो सर्त कानुन सबैका लागि समान हुनु हो। आफ्ना निकटस्थमाथि प्रश्न उठ्दा अनुसन्धानको घेरा साँघुरिने र राजनीतिक पहुँच नभएकामाथि राज्यको सम्पूर्ण शक्ति प्रयोग हुने हो भने त्यो सुशासनको मर्मसँग मेल खाँदैन।
सरकारले बुझ्नुपर्छ– प्रहरीलाई कमजोर बनाएर सुशासन स्थापित हुँदैन। प्रहरीलाई राजनीतिक आदेशको भरिया बनाएर अपराध नियन्त्रण हुँदैन। अनुसन्धानको प्रमाण सुरक्षित राख्न नसक्ने, गोप्य बयान चुहिने र प्रमाण नै शक्तिकेन्द्रको घरसम्म पुग्ने अवस्था रहेसम्म कुनै पनि भ्रष्टाचारविरोधी अभियान विश्वसनीय हुन सक्दैन।
अब प्रहरी मुख्यालयले केवल विज्ञप्ति जारी गरेर वा अनभिज्ञता प्रकट गरेर जिम्मेवारीबाट पन्छिन मिल्दैन। ईनमका मोबाइल कसको आदेशमा बाहिर लगियो? कसले पठायो? कसले बुझ्यो? कति समय कसको नियन्त्रणमा रह्यो? मोबाइलको डिजिटल तथ्यांकमा कुनै परिवर्तन भयो कि भएन? अडियो बयान कसले रेकर्ड गर्यो र कसरी बाहिरियो? अनुसन्धानका गोप्य विवरण कसले चुहायो? यी सबै विषयमा स्वतन्त्र, निष्पक्ष र समयबद्ध छानबिन हुनुपर्छ।
प्रधानमन्त्रीको सचिवालय, गृहमन्त्रीको सचिवालय र प्रहरी नेतृत्वसँग जोडिएका व्यक्तिहरूको भूमिकासमेत कानुनको दायरामा परीक्षण हुनुपर्छ। दोषी देखिए पद र पहुँचको पर्वाह नगरी कारबाही हुनुपर्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले पनि आफ्नो जिम्मेवारीबाट उन्मुक्ति पाउनु हुँदैन। प्रमाण नष्ट गर्ने, सूचना चुहाउने वा अनुसन्धान प्रभावित पार्ने जोसुकै भए पनि जवाफदेही हुनुपर्छ।
प्रहरीको सबैभन्दा ठूलो शक्ति उसको हतियार होइन, कानुनप्रतिको निष्ठा र नागरिकको विश्वास हो। त्यो विश्वास एकपटक भत्कियो भने पुनः स्थापित गर्न वर्षौं लाग्छ। प्रहरीलाई कमजोर बनाउने काम राजनीतिक हस्तक्षेपबाट हुन्छ, तर त्यसको मूल्य अन्ततः राज्य र आमनागरिकले चुकाउनुपर्छ।
आजको मूल प्रश्न ईनम सापकोटा दोषी हुन् कि निर्दोष भन्ने मात्र होइन। त्यसको फैसला प्रमाणका आधारमा अदालतले गर्नेछ। आजको मूल प्रश्न त अनुसन्धान गर्ने प्रहरी आफैँ स्वतन्त्र छ कि छैन भन्ने हो। प्रहरीको हातमा रहेको प्रमाण शक्तिकेन्द्रको घरमा पुग्छ, अनुसन्धानको अडियो सामाजिक सञ्जालमा छरिन्छ र जिम्मेवार निकाय छानबिन गर्नसमेत तयार हुँदैन भने राज्यको कानुनी शासनमाथि नै प्रश्न उठ्छ।
“प्रधानमन्त्रीज्यू, प्रहरी तपाईंको निजी सचिवालयको विस्तारित शाखा होइन। गृहमन्त्रीज्यू, अनुसन्धान तपाईंको व्यक्तिगत निगरानीमा चल्ने परियोजना होइन। प्रहरी संगठनलाई राजनीतिक पहुँच र आदेशको प्रयोगशाला नबनाउनुहोस्। कानुनभन्दा माथि कोही छैन भन्ने मान्यता व्यवहारमै स्थापित गर्नुहोस्।”
अन्यथा, सुशासनको नारा लगाउँदै राज्यका संस्थाहरूलाई कमजोर बनाउने विरोधाभास इतिहासले अवश्य प्रश्न गर्नेछ। प्रहरीलाई राजनीतिक नियन्त्रणमा होइन, कानुनी नियन्त्रणमा राख्नुहोस्। किनकि लोकतन्त्रमा सरकार शक्तिशाली हुनुभन्दा कानुन शक्तिशाली हुनु आवश्यक छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज मंसिर १२ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरीमा ‘सानालाई ऐन, ठूलालाई चैन’ : उच्चपदस्थमाथि कारबाही सिफारिस, प्रतिवेदन प्रधान कार्यालयमै थन्कियो
-
आज मंसिर ११ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
वरियताक्रममा सोविता गौतमको छलाङ : सरकारको प्राथमिकता कि अनुसन्धानको सुई मोड्ने रणनीति?
-
आज मंसिर १० गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चमा कानुन व्यवसायीको बलियो बहस, सरकारको निर्णय बदर गर्न माग
३ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा…





