तुइन खोलामा पहिरो रोकथामका लागि दैनिक पाँच घण्टा सडक बन्द हुने

मंसिर १३ गतेदेखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन ठप्प, कम्तीमा १५ दिन काम गर्नुपर्ने

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम गरिने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले यही मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधिको प्रयोग गरी रोकथामको काम अघि बढाउन लागेको हो । पछिल्लो समय वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिएपछि जोखिम न्यूनीकरणका लागि प्राविधिक उपाय अपनाउन लागिएको हो ।

पहिरो नियन्त्रणका लागि भिरमा रहेका ठूला ढुंगा हटाउने, भिरको ढलान व्यवस्थापन गर्ने र किला तथा रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ । त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास प्रणाली र ‘बायोइन्जिनियरिङ’ अर्थात् जैविक प्रविधिसमेत अपनाइने सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकको भिरालोपन र भौगोलिक अवस्थाअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिनेछ । पहिरो रोकथामको मुख्य प्रविधिका रूपमा भने नेलिङ प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गत असोजदेखि रोकिएको तुइन खोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइन खोलामा काम गरिएको र कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि तुइन खोलाको काम रोकिएको शर्माले जानकारी दिए ।

उनका अनुसार तुइन खोलामा प्रभावकारी रूपमा काम सम्पन्न गर्न सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म आवागमन बन्द गर्नुपर्ने देखिएको छ ।

यसअघि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङनजिकै घोप्टेभीरमा भइरहेको काम शनिबार मंसिर १२ गतेसम्म सम्पन्न हुने र आइतबार मंसिर १३ गतेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए । घोप्टेभीरको काम सकिएलगत्तै तुइन खोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ ।

यस अवधिमा काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
TOP
15 Shares