गृह मन्त्रालयद्वारा ९ सहसचिवको सरुवा, ८ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयले मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयको निर्णयसँगै ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन भएका छन्।

निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।

यसैगरी, गृह मन्त्रालय वा मातहतका निकायमा कार्यरत अन्य पाँच जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।

जसअनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

मन्त्रालयको पछिल्लो निर्णयसँगै जिल्ला प्रशासन कार्यालयहरूको नेतृत्वमा व्यापक हेरफेर भएको छ।

Facebook Comments Box
TOP
15 Shares