
उदयपुरमा बाँदर–बँदेल आतंक: खेती संकट गहिरिँदै, गाउँ रित्तिने खतरा बढ्दै

उदयपुर । उदयपुरका ग्रामीण तथा पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंक तीव्र रूपमा बढ्दै जाँदा खेतीपाती प्रणाली नै संकटमा परेको छ । बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन् भने कतिपय परिवार पुस्तौँदेखि बस्दै आएको थातथलो नै छाडेर अन्यत्र सर्न थालेका छन् ।
जंगलसँग जोडिएका बस्तीहरूमा वन्यजन्तुको आक्रमण बढ्दै जाँदा कृषि–आश्रित परिवारहरू विस्थापनको संघारमा पुगेका छन् । विशेषगरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँहरूमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीयवासीको भनाइ छ । वर्षौँदेखि लगाइँदै आएका मकै, कोदो, धान, भटमास, तरकारी तथा फलफूल बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि खेतबारी क्रमशः बाँझिँदै गएका छन् ।
कटारी नगरपालिका–११, मसारका पाँच घरपरिवारले बाँदरकै पीडाका कारण करिब ६ वर्षअघि गाउँ नै छाड्नुपरेको स्थानीयले बताएका छन् । सोही क्षेत्रका स्थानीय ठुलोकान्छा परियारले खेती गरेर जीवन धान्न असम्भव भएपछि बसाइँ सर्नु बाहेक विकल्प नरहेको गुनासो गरे ।
‘बारीमा लगाएको मकै, कोदो र अन्य बाली सखाप पार्न थालेपछि गाउँ छाड्न बाध्य हुनुपर्यो,’ उनले भने ।
त्यस्तै, उदयपुरगढी गाउँपालिका–१ का किसान राजन खत्री पनि बाँदर आतंककै कारण खेतीपाती छाड्ने अवस्थामा पुगेको बताउँछन् ।
‘मकै, कोदो, भटमास वा अन्य बाली जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन,’ उनले भने, ‘पहिले सात–आठ मुरी उत्पादन हुने बारी अहिले बाँझै छ ।’
उनका अनुसार महिनौँको मेहनत बाँदरको एक हुलले केही घण्टामै नष्ट गरिदिन्छ । चौबीसै घण्टा खेतबारी कुरेर बस्न सम्भव नभएपछि अब गाउँ छाड्नु नै विकल्प बन्न थालेको किसानहरूको भनाइ छ ।
स्थानीयहरूले सुरुवाती चरणमा सामूहिक रूपमा बाँदर लखेट्ने प्रयास गरे पनि अहिले त्यो प्रभावकारी नभएको बताएका छन् । ठुलोकान्छा परियार भन्छन्, ‘पहिले ठुलो स्वर गर्दा बाँदर भाग्थ्यो, अहिले त त्यसले पनि टेर्दैन ।’
बाँदरको डरका कारण कतिपय किसानहरूले खाद्यान्न बाली छाडेर अदुवा, खुर्सानी तथा फलफूल खेतीतर्फ मोडिए पनि ती बालीसमेत सुरक्षित नरहेको गुनासो छ । फलफूल बगैँचा नष्ट हुने र पाक्न लागेको उत्पादनसमेत सखाप हुने समस्या बढ्दो छ ।
नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिकाका स्थानीय नेता होमबहादुर बस्नेतका अनुसार बाँदर समस्या अब केवल खेती नोक्सानीमा सीमित छैन, यसले गाउँ नै रित्तिने अवस्था सिर्जना गरेको छ ।
‘गाउँमा किन जग्गा बाँझो भयो भनेर सोध्यो भने एउटै जवाफ पाइन्छ— बाँदर र बँदेल,’ उनले भने, ‘कतिपय बस्तीमा मान्छे भेटिनै छाडेको छ, घरहरू खण्डहर बन्न थालेका छन् ।’
उनका अनुसार कतिपय गाउँमा बाँदरले घरभित्रै पसेर अन्न नष्ट गर्ने र स्थानीयलाई त्रसित बनाउने अवस्था समेत छ । ‘घरमै दिनभर बाँदर धपाउनुपर्ने अवस्था छ,’ उनले थपे ।
जिल्लाका आठवटै स्थानीय तहमा बाँदरको समस्या बढ्दो क्रममा रहेको स्थानीयहरूको भनाइ छ । जंगल विनाश र प्राकृतिक सन्तुलन बिग्रँदा बाँदरको संख्या अस्वाभाविक रूपमा बढेको उनीहरूको बुझाइ छ ।
‘पहिले बाघजस्ता वन्यजन्तुले बाँदर नियन्त्रणमा राख्थे,’ बस्नेतले भने, ‘अब त्यस्तो सन्तुलन नहुँदा बाँदरको संख्या बढेर किसानहरू नै मारमा परेका छन् ।’
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले बाँदर समस्या राष्ट्रिय चुनौती बन्दै गएको भन्दै यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले विशेष नीति ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
‘गाउँघर रित्तिँदै गएका छन्, खेतीयोग्य जमिन बाँझिँदै छ,’ उनले भने, ‘यसका लागि अब एकीकृत राष्ट्रिय समाधान आवश्यक छ ।’
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





