
भारतको नयाँ मापदण्डले चिया निर्यात प्रभावित, उद्योग बन्द हुँदै

काठमाडौं । नेपाली चिया निर्यातमा भारतले पटक–पटक विभिन्न बहानामा अवरोध गर्दै आएको भन्दै चिया उद्योगी र किसानहरू मर्कामा परेका छन्। पछिल्लो समय भारतीय टी बोर्डले परीक्षणका नाममा पुनः अवरोध गरेपछि चिया निर्यात प्रक्रिया प्रभावित भएको छ।
भारतीय चिया बोर्डले १ मेदेखि लागू गरेको नयाँ मापदण्डअन्तर्गत ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी)’ अनुसार नेपालबाट निर्यात हुने चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ। भारतको भन्सार र टी बोर्डले दोहोरो परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात प्रक्रिया थप जटिल बनेको उद्योगीहरूको गुनासो छ।
उद्योगीका अनुसार परीक्षण प्रतिवेदन आउन लामो समय लाग्दा भारत पठाइसकिएको चिया गोदाममै थन्किने वा फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले निर्यातकर्तालाई ठूलो आर्थिक क्षति पुर्याएको छ।
इलामको सूर्योदय नगरपालिकामा रहेका ५३ चिया उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले सोमबारदेखि उद्योग बन्द गरेका छन्। एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार उद्योगमा रहेको गोदाम भरिएपछि किसानबाट हरियो चिया पत्ती खरिद नै रोक्नुपर्ने अवस्था आएको हो।
उनले करिब ११ लाख किलो चिया गोदाममै थन्किएको जानकारी दिँदै भने, “निर्यात नहुँदा पत्ती लिन सकिएन। पत्ती लिएपछि किसानलाई भुक्तानी दिनुपर्छ, मजदुर र कर्मचारीको तलब पनि दिनुपर्छ। निर्यात नै बन्द भएपछि उद्योग चलाउन सकिएन।”
उद्योगीहरूका अनुसार अहिले चिया उत्पादनको ‘पिक सिजन’ चलिरहेको भए पनि निर्यात अवरुद्ध हुँदा समस्या झन् गहिरिएको छ। भारत पठाइएको करिब ३ सय किलो चिया कोलकाता र सिलिगुडीका गोदाममा समेत अड्किएको बताइएको छ।
चिया उत्पादकहरूले चैत महिनादेखि नै निर्यात ठप्प भएको बताएका छन्। भारतमा उत्पादित चियाको करिब ९५ प्रतिशत अर्थोडक्स चिया र ५० प्रतिशत सिटिसी चिया निर्यात हुँदै आएको छ, जसले नेपाली चिया उद्योग भारतमा अत्यधिक निर्भर रहेको देखाउँछ।
भारतले १९ मेमा केही आन्तरिक खपत हुने चियामा नियम खुकुलो बनाउँदै एसओपी संशोधन गरे पनि निर्यात सहज नभएको उद्योगीहरूको भनाइ छ। नयाँ व्यवस्थाअनुसार ‘र्यान्डम’ नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था भए पनि परीक्षण प्रतिवेदन आउन ढिलाइ हुँदा समस्या यथावत् रहेको उनीहरू बताउँछन्।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्यराज पराजुलीले ४ असारबाट झापाका उद्योग पनि बन्द गर्ने तयारी रहेको बताएका छन्। यता चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले समस्या देखिएको स्वीकार गर्दै आधिकारिक निकायसँग पूर्ण विवरण प्राप्त नभएको बताएका छन्।
उनका अनुसार भारतको टी बोर्डले गरेको पछिल्लो संशोधनबारे जानकारी भए पनि व्यवहारमा समस्या समाधान नभएको देखिएको छ। उनले भने, “समस्या भएको बुझिएको छ, केन्द्रीय तहमा छलफल भइरहेको छ, तर अहिले नै ठोस निष्कर्षमा पुग्न सकिएको छैन।”
चिया उद्योगीहरूले भारतमा निर्भर निर्यात प्रणालीका कारण बारम्बार समस्या दोहोरिने भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





