हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी

मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र हुँदै शनिबार राति नम्बर प्लेटविहीन सवारी साधनमार्फत गाई ओसारपसार गरिएको दृश्य सार्वजनिक भएपछि स्थानीयस्तरमा गम्भीर चासो र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

स्थानीयका अनुसार शनिबार राति करिब ८ बजेतिर सुनवर्षी नगरपालिका क्षेत्रको झपरल चोक नजिक तथा रतुवामाई नगरपालिका अन्तर्गत लारीकट्टा चोक आसपास नम्बर प्लेट नभएको सवारी साधनमा ठूलो संख्यामा गाई राखेर लगिँदै गरेको देखिएको थियो। शंकास्पद गतिविधि देखेपछि स्थानीयहरूले उक्त सवारीलाई भद्रचोकसम्म पछ्याएका थिए।

स्थानीयको दाबीअनुसार, भद्रचोक पुगेपछि उक्त सवारी भारतीय सीमातर्फ लागेको थियो। यद्यपि, सम्बन्धित निकायबाट यस विषयमा आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

उक्त सडकखण्ड इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय सिजुवाको सुरक्षा जिम्मेवारीभित्र पर्ने क्षेत्र हो। यस्तो संवेदनशील क्षेत्रमा नम्बर प्लेटविहीन सवारी साधन निर्वाध रूपमा सञ्चालन हुनु र सीमाक्षेत्रसम्म पुग्न सफल हुनुले प्रहरीको निगरानी तथा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ।

स्थानीयवासीले नियमित सवारी जाँच, रात्री गस्ती तथा सीमा क्षेत्रको निगरानी प्रभावकारी नहुँदा अवैध गतिविधिहरू बढ्दै गएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कारबाही गर्न तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यस घटनाले हुलाकी सडकखण्डमा हुने सम्भावित अवैध पशु ओसारपसार तथा सीमापार तस्करी नियन्त्रणका लागि सुरक्षा संयन्त्रको प्रभावकारितामाथि पुनः बहस सिर्जना गरेको छ।

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि

1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
220 Shares