बालेन सरकारको तीन महिनाः भ्रष्टाचारी, बिचौलिया र राजस्व छल्नेहरुको झनै मनोबल बढ्दै !

साइत हेरी बाहुन र लामा पढाएर शपथ खाने पहिलो नेपाली प्रधानमन्त्री हुन्, वालेन्द्र शाह (वालेन) । २०४६ सालअघि वा त्यसयताका कुनै पनि प्रधानमन्त्रीले यसरी शपथ लिएका थिएनन् । प्रधानमन्त्री वालेनले इतिहासमै पहिलो पटक यसो गरेका हुन् । उनले शपथ खाएको दिन नेपाली जनता निकै खुशी थिए । सो दिन उत्सवका रुपमा मनाए ।

किनकि उनीहरुले आशा गरेका थिए–अब मुलुकमा सुशासन कायम हुन्छ । भ्रष्टाचारको अन्त्य हुन्छ । सार्वजनिक सम्पत्तिको संरक्षण हुन्छ । छिमेकी मुलुकले हडपेको नेपाली भूमि फिर्ता ल्याइन्छ । कालोबजारी गर्ने, सिण्डिकेट लगाउने र दलालहरु समातिन्छन् । बन्द भएका उद्योग, कलकारखाना खुल्छन् । रोजगारी पाउन विदेशिनुपर्दैन ।

राजस्व छल्नेहरुलाई कारबाही गरिन्छ । शिक्षा र स्वास्थ्य निःशुल्क बनाइन्छ । खोला आसपास सञ्चालित क्रसर उद्योगसहित अस्तव्यस्त शहरलाई व्यवस्थित बनाइन्छ । जथाभावी सञ्चालित पेट्रोल पम्प, ग्यास डिपो, पार्टी प्यालेन्स, बसपार्क, तरकारी बजार, सुपरमार्केटहरु व्यवस्थित ठाउँमा सारिन्छ । देशभर खोला नदीको जग्गा कब्जा गरेर बसेकालाई हटाइन्छ ।

वालेन सरकारले एक सय दिनमै देशमा उथुलपुथल गर्छ भन्ने विश्वास जनतामा थियो । अर्कोतर्फ, प्रधानमन्त्री नियुक्त भएको २४ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि यो सरकारले साँच्चिकै काम गर्छ भन्नेमा जनता झनै विश्वस्त भए । ओली र लेखक समातिएपछि बजारमा भनिन्थ्यो–प्रचण्ड, देउवा, माधव नेपाल, नारायणमान बिजुक्ँछे, गगन थापालगायतलाई पनि पक्राउ गरिन्छ ।

सहकारी ठगीमा रवि लामिछाने र जीबी राईलाई समेत पक्राउ गरिने बजारमा मानिसहरु कुरा गर्थे । यतिमात्र होइन, कहिल्यै न्यूज नहेर्नेले समेत समाचार हेर्न थाले । सरकारले के गर्यो त ? कसलाई समात्यो ? क्याबिनेटले के निर्णय गर्यो ? जनता थाहा पाउन आतुर हुन्थे । यता, गृहमन्त्री सुधन गुरुङ भन्थे–‘म देश बनाउन आएको हुँ । गलत गरेको भएमा आफ्नै बाउलाई समेत छोड्दिँन ।’

रातभर काम गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्रालयकै सोफामा सुतेको फोटोसमेत पोष्ट गरेका थिए । त्यसैबीच गृहमन्त्री गुरुङमाथि बिचौलिया दिपक भट्टसँग कनेक्शनको आरोप लाग्यो । र, उनले पदबाट रजीनामा दिए । प्रधानमन्त्री वालेन आफैंले गृह मन्त्रालय सम्हाले । लगत्तै उनले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएरसुकुम्बासी बस्तीमा डोजर चलाउन निर्देशन दिए । काठमाडौं उपत्यकाबाट यसको शुरुवात भयो ।

वैशाख १२ गते थापाथलीसहित उपत्यकाका खोला नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइयो । उपत्यकाको सुकुम्बासी बस्ती हटाएपछि देशभर खाली गराउने तयारी थालियो । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुले सूचना निकालेर जग्गा खाली गर्न सुकुम्बासीहरुलाई निर्देशन दिए ।

खोला नदीसहित सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई पनि हटाउने कामको शुरुवात भयो । त्यस्ता संरचनामा डोजर चलाइएको देखेपछि सार्वजनिक जग्गा हड्पेर बस्नेहरुको सातो गयो । उनीहरु आफैं हट्न थाले । भक्तपुर पनि यही भयो । सल्लाघारी तीनकुनेदेखि सिर्जनानगर, राधेराधे, निकोसेरा, आर्मी ब्यारेक, दुवाकोट जाने टेम्पो पार्क, खरिपाटीलगायत एरियामा सार्वजनिक, गुठी, ऐलानी, राजपरिवारको जग्गा कब्जा गरेर बस्दै आएकाहरु आफैं हट्न तयार भइसकेका थिए ।

उनीहरु भन्थे–‘यो जग्गा गुठी, ऐलानी रहेछ । यहाँ पनि डोजर आउँछ होला । हाम्रोलाई रातभर निन्द्रा लाग्दैन । त्यसैले, आफैं हट्नुपर्यो ।’ तर, अहिले देशभर डोजर चलाउन रोकिएको छ । सुकुम्बासी बस्तीसहित सरकारी, गुठी, ऐलानी, वनजंगल, मठमन्दिर, राजकुलो, टुकुचा, हदबन्दी बढी, राजपरिवारलगायतको जग्गा कब्जा गरेर बसिरहेका बस्ती हटाउने अभियान रोकिएको छ ।

यसले भूमाफियाहरुको मनोबल झनै बढेको छ । अहिले बजारमा भनिन्छ–अब सरकारी जग्गामा बनेका संरचनामाथि डोजर चल्दैन । यतिमात्र होइन, यातायात र मालपोतमा बिचौलियाहरु खुलेआम छिरिरहेका छन् । जबकी वालेन सरकार गठन हुनेबित्तिकै भूमिमन्त्री प्रतिभा रावलले मालपोत र यातायात कार्यालयमा बिचौलिया निषेध गर्ने निर्णय गरेकी थिइन् । केही समय बिचौलियालाई समातियो पनि ।

अहिले फेरि उही क्रम जारी छ । वालेन सरकार गठनको तीन महिना पुरा भएर चार महिना लागेको छ । यसअवधिमा सरकारले के के काम गर्यो ? सायद सरकार आफैंलाई पनि थाहा छैन । किनकि कामै गरिएको छैन । आधा अधुरो काम गरेर छोडिएको छ । यसले बिचौलिया, दलाल, भूमाफियाहरुको झनै मनोबल बढ्दा सरकारप्रति जनताको विश्वास घटिरहेको छ । वालेन सरकारले पक्षपात नगर्नेमा जनता ढुक्क थिए ।

तर, यो सरकार पनि पुरानै बाटोमा हिँड्यो । आफ्नालाई जोगाउने, प्रतिपक्षलाई पेल्ने । नभए रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा कसरी फिर्ता हुन्थ्यो ? वालेन सरकारले एक सय दिनभित्र एक सय वटा काम गर्ने दाबी गरेको थियो । सरकार गठनको तीन महिना बितिसक्यो । एक सय दिन पुग्न केही दिनमात्र बाँकी छ । अनि ओली र लेखकलाई समातेर छोड्नुबाहेक यो सरकारले अरु के काम गर्यो त ? यो सरकारले पनि केही गर्दैन भनेर जनतामा निराशा छाउन थालिसकेको छ ।

प्रधानमन्त्री वालेनले रास्वपा महाधिवेशनमा आफूलाई एक्सप्रेस वे बताएका छन् । तर, सरकारको गति देख्दा त बिग्रिएको गाडीजस्तै लाग्छ । यदि सरकार यही गतिमा रहने हो भने पाँच वर्षमा पाँच वटासमेत काम हुनेछैन । त्यसैले, वालेन सरकारले गति बढाउन आवश्यक छ । काम नगर्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्यो । जनताले विश्वास गरेर वालेनलाई यत्रो जिम्मेवारी दिएका हुन् ।

यदि उनले मौका पाएको बेला आफूलाई सावित गर्न सकेनन् भने कांग्रेस, एमाले, माओवादीजस्तै हालत हुनेछ । यसकारण सरकार तातियोस् । अब भ्रष्टाचारी, राजस्व छल्नेहरुमाथि कारबाही अघि बढाइयोस् । सिण्डिकेटको अन्त्य गरियोस् । अतिक्रमति सार्वजनिक जग्गा र सम्पत्ति फिर्ता ल्याइयोस् । अतिक्रमित नेपाली भूमि फिर्ता ल्याइयोस् । काम नगर्ने ठेकेदारहरुलाई कडा कारबाही गरियोस् ।

यो सरकारले धमाधम काम गर्ने हो । काम नगर्ने मन्त्रीलाई तुरुन्त बर्खास्त गर्नुपर्यो । किनकि यो सरकारलाई बहानाबाजी गर्ने छुट छैन । जनताले सरकारलाई काम गर्न पुग्नेगरी मत दिएका छन् । त्यो मतको कदर सरकारले गरोस् । नत्र पछुताउनुपर्ला ।

रुषा थापा

भक्तपुर

Facebook Comments Box
हुलाकी सडकमा खुलेआम गाई तस्करीको आशंका : नम्बर प्लेटविहीन सवारी भारतीय सीमातर्फ पुगेको स्थानीयको दाबी
१२ घण्टा अगाडि

1.3kViews 220 Shares Share on Facebook Share on Twitter मोरङ, असार १४ (आइतबार)। हुलाकी सडकखण्डअन्तर्गत मोरङको सुनवर्षी र रतुवामाई क्षेत्र…

TOP
222 Shares