

किभमा रुसको भीषण आक्रमण : २७ जनाको मृत्यु, सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार
किभ । रुसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गर्दै यस वर्षकै सबैभन्दा घातक आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्।
रातभरि जारी शृङ्खलाबद्ध विस्फोटले राजधानी किभ थर्किएको थियो। आक्रमणपछि हजारौँ स्थानीय बासिन्दा ज्यान जोगाउन बम सेल्टर तथा भूमिगत मेट्रो स्टेसनहरूमा आश्रय लिन बाध्य भएका थिए। विस्फोटपछि आकाशमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो भने करिब १३० वटा भवनमा क्षति पुगेको जनाइएको छ।
किभको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले टेलिग्राममार्फत अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु भएपछि मृतकको संख्या २७ पुगेको जानकारी दिएका छन्। उनका अनुसार उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेकाहरूको खोजीकार्य जारी राखेकाले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।
उनले नीपर नदीको देब्रे किनारस्थित पूर्वी उपनगरबाट पाँच जनाको शव निकालिएको र आठ जना अझै बेपत्ता रहेको बताए। “सबै भग्नावशेष हटाइ नसक्दासम्म उद्धार अभियान जारी रहनेछ,” उनले भने, “दुर्भाग्यवश, अझै थप पीडितहरू भेटिन सक्ने सम्भावना छ।”
पाँचौँ वर्षमा प्रवेश गरेको रुस–युक्रेन युद्धका क्रममा राजधानी किभमा भएको यो आक्रमणको विनाश र क्षतिको परिमाण अभूतपूर्व मानिएको छ। यसअघि गत मे महिनामा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको थियो।
आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आंशिक रूपमा ध्वस्त भएको नौ तले आवासीय भवनको निरीक्षण गरेका छन्। उनले सहयोगी राष्ट्रहरूले प्रतिबद्धता अनुसार वायु रक्षा प्रणाली उपलब्ध नगराउँदा क्षति बढेको आरोप लगाए।
“यदि हाम्रा साझेदारहरूले आफ्नो प्रतिबद्धता समयमै पूरा गरेका भए, आज धेरै घर र धेरै जीवन बचाउन सकिन्थ्यो,” थकित र निराश देखिएका जेलेन्स्कीले भने, “हामीले सहमति भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न मात्र आग्रह गरिरहेका छौँ।”
आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा उनले आगामी साता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा वायु रक्षा प्रणालीको विषय प्रमुख एजेन्डा बन्ने बताए। उनले युरोपेली वायु रक्षा प्रणालीको विकासका लागि पुनः आह्वान गर्दै युरोपसँग रुसी ब्यालिस्टिक मिसाइललगायत सबै प्रकारका खतराविरुद्ध पर्याप्त सुरक्षा क्षमता हुनुपर्ने बताए।
युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इह्नातले यसपटक ब्यालिस्टिक मिसाइलको संख्या असामान्य रूपमा बढी भएको र तिनलाई निष्क्रिय पार्ने दर कम रहेको जानकारी दिए। पछिल्ला महिनाहरूमा युक्रेनले प्याट्रियट मिसाइल प्रणालीको अभाव झेलिरहेको छ।
उता, रुसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत जारी गरेको वक्तव्यमा लामो दूरीका तथा उच्च सटीकताका हवाई, स्थलीय र समुद्री हतियार तथा ड्रोन प्रयोग गरी किभसहित विभिन्न क्षेत्रमा रहेका सैन्य, ऊर्जा तथा विमानस्थल पूर्वाधारलाई लक्षित गरी ठूलो आक्रमण गरिएको जनाएको छ।
मस्कोले यस आक्रमणलाई युक्रेनद्वारा रुसभित्र गरिएका ड्रोन आक्रमणको प्रतिशोध भएको दाबी गरेको छ। युक्रेनले भने रातभर रुसको निज्नी नोभगोरोड क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ। स्थानीय गभर्नरका अनुसार उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ।
क्रेमलिनले रुसी सैन्य कमाण्डरहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणबारे जानकारी गराएको र युद्धका उद्देश्य हासिल गर्न दबाब अझ बढाइने जनाएको छ।
किभका मेयर भिटाली क्लिट्स्कोले शुक्रबारका लागि राजधानीमा शोक दिवस घोषणा गरेका छन्। करिब ३० लाख जनसंख्या रहेको सहरका धेरै भवनहरूमा ठूलो क्षति पुगेको उनले बताएका छन्।
युक्रेनी रेडक्रसले सामाजिक सञ्जाल एक्समार्फत किभस्थित आफ्नो मानवीय सहायता गोदाम पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ। संस्थाका अनुसार गोदाममा रहेका तीन लाख २० हजारभन्दा बढी राहत सामग्री नष्ट भएका छन्, जसले युक्रेनभरको आपत्कालीन उद्धार तथा मानवीय सहायता कार्यमा गम्भीर असर पार्नेछ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आक्रमणको निन्दा गरेका छन्। उनका प्रवक्ता स्टेफान दुजारिकले यसलाई जनघनत्व भएका क्षेत्रमा भइरहेका “घातक आक्रमणहरूको शृङ्खला” को एक हिस्सा भएको बताएका छन्।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनसँग शान्ति वार्ताको प्रस्ताव पुनः अघि सारेका छन्, तर क्रेमलिनले यसलाई अस्वीकार गरिसकेको छ। उनले पछिल्ला दुई दिनमा युक्रेनी र अमेरिकी प्रतिनिधिहरूबीच वार्ता भएको जानकारी दिँदै आगामी नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुने आशा व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
१२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
-
कर्णालीमा खसेको बसका चालक–सहचालक सहोदर दाजु–भाइ, परिवार शोकमा
-
विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्ने विधेयक संसद्मा दर्ता, विद्यार्थीलाई सैन्य तथा राष्ट्रसेवासम्बन्धी तालिम दिइने
-
तेस्रोलिंगी पहिचान मेटाएर दुई लिङ्गमा सीमित गर्ने प्रयासप्रति सुनिल बाबु पन्तको प्रश्न
-
देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि
1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…





