देशभर अविरल वर्षाको असर: मुख्य राजमार्गहरू प्रभावित, केही पूर्ण अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक सञ्जाल प्रभावित भएका छन्। सम्बन्धित निकायले शुक्रबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालनमा रहेको तथा केही स्थानमा सवारी आवागमन नै रोकिएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। यस्तै, इलामको रोङ गाउँपालिका–३ राउतबारी क्षेत्रमा रहेको मेची राजमार्ग तथा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ सिम्ले क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको जनाइएको छ।

काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी–नेपालथोक–धुलिखेल सडकखण्डमा सम्भावित बाढीको जोखिम बढेपछि सवारी आवागमन नै रोकिएको छ। त्यस्तै, बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुंगा–चिसापानी क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ५ अन्तर्गत पर्ने कुलेखानी–फाखेल हुँदै हुमाने–फाखेल–काठमाडौँतर्फको सडकखण्डमा मर्मत कार्य जारी रहेकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–५ पानीधारास्थित मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोका कारण प्रभावित भए पनि हाल सञ्चालनमा रहेको छ। यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–३ डुंगेडाँडास्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डमा पहिरोका कारण आवागमन प्रभावित भएको छ।

पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रमा रहेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। यता, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ रिम्जीखोला क्षेत्रमा अविरल वर्षाका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

सम्बन्धित निकायले वर्षासँगै पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा अत्यन्त सतर्क रहन तथा अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.9kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
353 Shares