पाकिस्तानमा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार यात्रुबाहक बस सडकबाट चिप्लिएर करिब २० मिटर तल खोलामा खस्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको बस बलुचिस्तानको दाना सार क्षेत्रमा दुर्घटनामा परेको हो। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बस करिब २१ देखि २४ मिटर गहिरो खोलामा खसेको र दुर्गम पहाडी भूभागका कारण उद्धार कार्यमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

बलुचिस्तानका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले दुर्घटनापछि बलुचिस्तान र खैबर पख्तुनख्वा दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिएका छन्।

पाकिस्तानमा ट्राफिक नियम उल्लङ्घन, तीव्र गति, कमजोर सडक पूर्वाधार तथा लापरवाहीपूर्ण सवारी सञ्चालनका कारण यस्ता सडक दुर्घटना बारम्बार हुने गरेका छन्।

Facebook Comments Box
TOP
298 Shares