बर्डफ्लु संक्रमणपछि मटनको मूल्यमा उछाल, कुखुराको व्यापार प्रभावित

काठमाडौं । कुखुरा, हाँस, बट्टाईलगायतका पन्छीमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले संक्रमित पन्छीको बिक्री–वितरणमा रोक लगाएको छ। विभागले संक्रमित पन्छी बिक्री–वितरण गरे कानुनी कारबाही गरिने चेतावनी दिँदै संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बर्डफ्लु संक्रमण देखिएसँगै काठमाडौंसहित विभिन्न जिल्लामा कुखुराको मासुको खपत उल्लेख्य रूपमा घटेको व्यवसायीहरूले बताएका छन्। कोटेश्वरका एक मासु व्यवसायीका अनुसार पछिल्ला केही दिनयता कुखुराको मासुको बिक्रीमा कमी आएको छ भने व्यापारसमेत प्रभावित बनेको छ।

कुखुराको मासु उपभोग गर्ने उपभोक्ता मटनतर्फ आकर्षित भएपछि मटनको माग ह्वात्तै बढेको छ। व्यवसायीहरूका अनुसार पछिल्ला केही सातामै मटनको मूल्य प्रतिकिलो ३०० रुपैयाँसम्मले बढेको छ। हाल बजारमा मटन प्रतिकिलो १ हजार ४०० रुपैयाँदेखि १ हजार ६०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। व्यवसायीहरूले माग उच्च रहेकाले मूल्य अझै बढ्न सक्ने बताएका छन्।

पशु सेवा विभागका अनुसार हाल काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीसहित ११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। विभागले उपभोक्तालाई उच्च सतर्कता अपनाउन तथा संक्रमण भएका पन्छीको बिक्री–वितरण नगर्न आग्रह गरेको छ।

Facebook Comments Box
TOP
357 Shares