आज राति ठूलो वर्षाको सम्भावना, तीन प्रदेशमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोको तुलनामा रातिको समयमा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा राति ठूलो पानी पर्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार दिउँसो देशका हिमाली, पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा भने हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको तीव्रता बढ्न सक्ने बताइएको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सडक यात्रामा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box
TOP
113 Shares