किएभमा रूसी भीषण आक्रमण : मृत्यु हुनेको संख्या ३० पुग्यो, युक्रेनको कडा प्रतिकारको चेतावनी

किएभ । युक्रेनको राजधानी किएभमा रूसले गरेको भीषण मिसाइल तथा ड्रोन आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ३० पुगेको छ भने ९१ जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाले उक्त विवरण पुष्टि गरेको हो।

आक्रमणपछि घटनास्थल पुगेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आंशिक रूपमा ध्वस्त भएको अपार्टमेन्ट भवनको निरीक्षण गर्दै रूसी आक्रमणको “निश्चित रूपमा बदला लिइने” चेतावनी दिएका छन्। उनले रूसले केही समयदेखि युक्रेनविरुद्ध ठूलो आक्रमणको तयारी गरिरहेको दाबी पनि गरेका छन्।

किएभका मेयर भिटाली क्लिट्स्कोले यसलाई राजधानीमाथि रूसले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक भएको बताएका छन्। सहरका आवासीय क्षेत्रमा मिसाइल र ड्रोन प्रहार भएपछि धेरै भवनमा क्षति पुगेको छ।

सहरको सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आक्रमणमा ९१ जना घाइते भएका छन्। रेडक्रसको युक्रेनी शाखाले आफ्नो मुख्य गोदाम पूर्ण रूपमा नष्ट भएको र करिब २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता सामग्री क्षति भएको जनाएको छ। आक्रमणका क्रममा कूटनीतिज्ञहरू बस्ने भवनमा पनि क्षति पुगेको भए पनि सबै कूटनीतिज्ञ सुरक्षित रहेको ईयूकी प्रवक्ता अनिट्टा हिप्परले बताएकी छन्।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको भन्दै तत्काल युद्धविरामको आह्वान गरेका छन्। उनका प्रवक्ता स्टेफन डुजारिकले यस्ता आक्रमण तुरुन्त रोक्नुपर्ने बताएका छन्।

युरोपेली सङ्घले पनि आक्रमणको कडा निन्दा गर्दै रूसविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको जनाएको छ। ईयूकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरिने जानकारी दिएकी छन्।

यता, क्रेमलिनले भने आफ्नो अडानमा कुनै परिवर्तन नभएको जनाउँदै किएभमाथिको दबाब कायम राख्ने संकेत दिएको छ।

आक्रमणका क्रममा क्रिवी रिग सहरमा पनि मिसाइल प्रहार हुँदा दुई जना घाइते भएका छन्। युक्रेनले आफ्ना अन्तर्राष्ट्रिय साझेदारसँग थप हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ। साथै, अमेरिकामा निर्मित ‘प्याट्रियट’ मिसाइल प्रतिरक्षा प्रणालीका लागि आवश्यक हतियार स्वदेशमै उत्पादन गर्न अनुमति दिन पनि जेलेन्स्कीले आग्रह गरेका छन्। यद्यपि रक्षा विज्ञहरूले यस्तो उत्पादन क्षमता विकास गर्न समय लाग्ने बताएका छन्।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.8kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
374 Shares