पर्सामा पनि कालो सिसाविरुद्ध ट्राफिक प्रहरीको अभियान, मापदण्डविपरीतका सवारीको सिसा हटाइँदै

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ।

सार्वजनिक सुरक्षा तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई मध्यनजर गर्दै सरकारको नीतिअनुरूप पर्सामा पनि अभियान सञ्चालन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको नेतृत्वमा वीरगञ्जका विभिन्न स्थानमा निजी तथा सार्वजनिक सवारी साधनको विशेष जाँच भइरहेको छ।

अभियानका क्रममा मापदण्डविपरीत कालो सिसा वा स्टिकर प्रयोग गरेका सवारी साधनलाई रोकी तत्काल त्यस्ता सामग्री हटाउन लगाइएको प्रहरीले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना सवारी साधनको रङ, स्वरूप, इन्जिन, चेसिस वा अन्य कुनै संरचनामा परिवर्तन गर्न पाइँदैन। सोही कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

उनका अनुसार कालो सिसा प्रयोग गर्दा सवारीभित्र भइरहेका गतिविधि बाहिरबाट स्पष्ट नदेखिने भएकाले सुरक्षा निगरानीमा चुनौती सिर्जना हुन्छ।

“कालो सिसाको आवरणमा आपराधिक गतिविधि लुकाउन सकिने तथा अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले सार्वजनिक सुरक्षा र शान्ति व्यवस्था कायम राख्न यो अभियानलाई तीव्रता दिएका हौँ,” प्रहरी निरीक्षक श्रेष्ठले भने।

ट्राफिक प्रहरीले मापदण्डविपरीत कालो सिसा प्रयोग नगर्न सबै सवारीधनीलाई आग्रह गर्दै अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.7kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
255 Shares