कार्यालयमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट, दुई जना पक्राउ

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई धादिङको गजुरीबाट सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि चितवन ल्याइँदै छ।

बस्नेतका अनुसार बिहीबार बिहान नियमित कार्यालय सञ्चालन भइरहेका बेला केही व्यक्ति कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर सामूहिक रूपमा आक्रमण गरेका थिए। कुटपिटबाट घाइते भएका उनको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीले सरकारी कार्यालयभित्रै उच्च प्रशासनिक अधिकारीमाथि भएको आक्रमणको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। विरोधस्वरूप केही समय कार्यालयको कामसमेत प्रभावित भएको थियो।

प्रहरीले घटनाको कारण, आक्रमणको उद्देश्य तथा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सरकारी कार्यालयभित्रै भएको यस घटनाले सार्वजनिक निकायको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.8kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
181 Shares