सहकर्मीको एसएलआरबाट अचानक गोली चल्दा सप्तरीमा प्रहरी जवान घाइते

सप्तरी । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको सुरक्षा गार्डमा ड्युटीमा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन्।

घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार राति राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयको ‘ए’ ब्लकअन्तर्गत पोस्ट नं. ३ मा ड्युटीमा रहेका बिसोजित शौचालयबाट पोस्टतर्फ फर्किरहेका बेला पोस्ट नं. ४ मा खटिएका २२ वर्षीय प्रहरी जवान अजयकुमार महतोले बोकेको एसएलआर राइफलबाट अचानक एक राउन्ड गोली चलेको थियो।

गोली बिसोजितको कम्मरमाथिको ढाडमा लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

घटनापछि प्रहरी जवान अजयकुमार महतोलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Facebook Comments Box
मेलम्चीको मुहानमा बाढी, काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द
९ घण्टा अगाडि

1.8kViews 191 Shares Share on Facebook Share on Twitter काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेपछि…

TOP
182 Shares