सेवाग्राहीलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई अनावश्यक झन्झट र सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न कडा निर्देशन दिएका छन्। उनले सेवाग्राहीलाई कागजात बोकेर कार्यालय–कार्यालय धाउन बाध्य बनाउने अभ्यास अन्त्य गर्दै एकीकृत, छिटोछरितो र जनमैत्री सेवा प्रवाह सुनिश्चित गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।
शनिबार जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सेवाप्रवाहमा तत्काल सुधार ल्याउन स्पष्ट निर्देशन दिए। उनले सरकारी सेवा प्रणाली नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै पुरानो झन्झटिलो कार्यशैली अब स्वीकार्य नहुने बताए।
“कागज लिएर सेवाग्राही कुद्ने होइन, अब कर्मचारी कुद्नुपर्छ। एउटा झ्यालमा कागजात बुझाएपछि अर्को कोठा वा अर्को दुलो चहार्नुपर्ने अवस्था तत्काल अन्त्य हुनुपर्छ,” गृहमन्त्री गुरुङले भने।
विराटनगरको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै उनले सेवाग्राहीलाई घाममा लामबद्ध गराउने अभ्यास तत्काल रोक्न, शीतल स्थानमा बस्ने उचित व्यवस्था गर्न तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली अविलम्ब लागू गर्न निर्देशन दिए।
गृहमन्त्री गुरुङले नागरिकलाई दुःख दिएर होइन, सन्तुष्ट बनाएर सेवा दिनुपर्नेमा जोड दिँदै कर्मचारीको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरिने बताए। उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र लापरबाही तथा गैरजिम्मेवार व्यवहार देखाउने कर्मचारीमाथि आवश्यक कारबाही गरिने चेतावनी पनि उनले दिए।
निरीक्षणका क्रममा कर्मचारीका लागि सफा र व्यवस्थित तर सेवाग्राहीका लागि दुर्गन्धित शौचालय रहेको अवस्था भेटिएपछि गृहमन्त्री गुरुङले गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले यस्तो विभेदपूर्ण व्यवहार तत्काल अन्त्य गरी सरकारी कार्यालयमा सबै नागरिकले समान र सम्मानजनक सुविधा पाउने वातावरण सुनिश्चित गर्न निर्देशन दिए।
यसै क्रममा गृहमन्त्री गुरुङले जोगबनी सीमा नाका, विराटनगर भन्सार कार्यालय तथा नेपाल प्रहरीअन्तर्गतको जिल्ला प्रहरी कार्यालयको समेत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले सीमा सुरक्षा व्यवस्थापन, राजस्व प्रशासन तथा प्रहरीको भौतिक पूर्वाधार र सेवा प्रवाहबारे जानकारी लिएका थिए।
गृहमन्त्री गुरुङको यस निरीक्षणलाई सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने अभियानको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Facebook Comments Box
आज असार २१ गते आइतबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

1.8kViews 178 Shares Share on Facebook Share on Twitter मेष- आज जीर्णोद्धार वा मर्मतसम्बन्धी कामको योजना बन्न सक्छ । अरूको सहयोगका…

TOP
380 Shares