मध्यपूर्व युद्धको असरपछि भारतले स्वदेशी तेल उत्पादन विस्तार गर्ने योजना

काठमाडौँ । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि सारेको छ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीले हालको ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताएका छन्।

विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले हालैको अमेरिका–इरान तनावका क्रममा ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा देखिएको अवरोधका कारण ऊर्जा आपूर्तिमा चुनौती भोगेको थियो। त्यसपछि अस्थायी युद्धविरामसँगै खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुचारु भएको र बजार मूल्य स्थिर हुँदै गएको जनाइएको छ।

मन्त्री पुरीका अनुसार भारतले हालसम्म अन्वेषण नभएका करिब दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

आर्थिक वर्ष २०२५/२६ मा भारतको स्वदेशी कच्चा तेल उत्पादन करिब दुई करोड ५९ लाख ८० हजार मेट्रिकटन पुगेको छ, जुन कुल आवश्यकताको करिब १० प्रतिशत मात्र हो।

ऊर्जा आपूर्तिको विविधिकरणका लागि भारतले कच्चा तेल आयात गर्ने देशको सङ्ख्या २७ बाट बढाएर ४१ पुर्‍याएको छ। यस क्रममा इरान, भेनेजुएला, रुस तथा विभिन्न अफ्रिकी मुलुकबाट पनि आयात बढाइएको बताइएको छ।

मन्त्री पुरीले भारतले वैचारिक दृष्टिकोणभन्दा ऊर्जा आवश्यकतालाई प्राथमिकता दिएको उल्लेख गरेका छन्। स्वदेशी उत्पादन मुख्यतः मुम्बईको अपतटीय क्षेत्र, राजस्थान, गुजरात र आसाममा केन्द्रित रहेको छ।

यसैबीच अन्डमान तथा निकोबार द्वीप आसपासको समुद्री क्षेत्रलाई ऊर्जा सम्भावनाले भरिएको क्षेत्रका रूपमा पहिचान गर्दै गहिरो समुद्री अन्वेषण तीव्र पारिने भएको छ। यसका लागि पेट्रोब्रास, टोटलएनर्जीज, बीपी, शेल तथा एक्सनमोबिलजस्ता अन्तरराष्ट्रिय कम्पनीसँग सहकार्य भइरहेको जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ मा ‘समुद्र मन्थन’ अभियान घोषणा गर्दै समुद्रमुनिको तेल तथा ग्यास खोजलाई राष्ट्रिय प्राथमिकतामा राखेका थिए।

सरकारले सन् २०७० सम्म कार्बन तटस्थता लक्ष्य राखे पनि बढ्दो ऊर्जा मागका कारण भारतमा तेल खपत निरन्तर बढिरहेको छ। अहिले दैनिक करिब ५६ लाख ब्यारेल खपत भइरहेको र निकट भविष्यमा ६० लाख ब्यारेल पुग्ने अनुमान गरिएको छ।

Facebook Comments Box
TOP
401 Shares