

पत्रकार जियालाल साहलाई चारै मुद्दामा सफाइ, नागरिकता किर्ते प्रकरणमा राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले आफूविरुद्ध प्रकाशित खोजमूलक समाचारका कारण पत्रकार जियालाल साहविरुद्ध दायर गरेका चारवटै मुद्दामा पर्सा जिल्ला अदालतले अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै पूर्ण सफाइ दिएको छ।
पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जतीसम्बन्धी कसुर र अदालतको अवहेलनासम्बन्धी कसुरका सबै मुद्दामा अभियोजन पक्षले आरोप प्रमाणित गर्न नसकेको निष्कर्ष निकाल्दै पत्रकार साहलाई निर्दोष ठहर गरेको हो।
पत्रकार जियालाल साहले २०८० पुस २४ गते सिधाकुरा डटकममार्फत तत्कालीन नगरप्रमुख राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर किर्ते जन्मदर्ताको आधारमा नेपाली नागरिकता बनाइदिएको विषयमा खोजमूलक समाचार सार्वजनिक गरेका थिए। उक्त समाचार सार्वजनिक भएपछि देशव्यापी चर्चा भएको थियो भने गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै अनुसन्धान थालेका थिए।
त्यसपछि नगरप्रमुख सिंहले वीरगञ्ज सिटी डटकममा प्रकाशित झण्डा खरिदमा अनियमितता, भेडाहा खोला तटबन्ध निर्माणमा ढिलाइ, डुबान क्षेत्रको अनुगमन, बैंक खाता खोल्न दिइएको निर्देशन, स्वास्थ्य सामग्री वितरणमा ढिलाइलगायतका समाचारलाई आधार बनाएर पत्रकार साहविरुद्ध क्रमशः चारवटा मुद्दा दायर गरेका थिए। २०८१ असोज ६ गते लिखित बेइज्जती, मंसिर ११ गते विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर, त्यसपछि नगरप्रमुखका छोरा अनिशमान श्रेष्ठमार्फत वैयक्तिक प्रतिष्ठा तथा बेइज्जतीसम्बन्धी मुद्दा तथा २०८१ चैत २२ गते अदालतको अवहेलनासम्बन्धी कसुरको मुद्दा दायर गरिएको थियो।
अदालतले यी सबै मुद्दामा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै पत्रकार साहलाई पूर्ण रूपमा सफाइ दिएको हो।
पत्रकार साहको पक्षबाट अधिवक्ताहरू अजय श्रीवास्तव, चन्द्रिका पटेल, अभिनव गुप्ता तथा नेपाल पत्रकार महासंघको समन्वयमा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीलगायतले बहस गरेका थिए। वादी पक्षबाट अधिवक्ता कमलमोहन कुर्मी तथा सरकारी वकिल कार्यालयले बहस गरेको थियो।
नागरिकता किर्ते प्रकरणमा अख्तियारको भ्रष्टाचार मुद्दा
पत्रकार साहले सार्वजनिक गरेको समाचारकै आधारमा अनुसन्धान अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।
अख्तियारका अनुसार भट्टराई थर भएकी एक महिलाकी छोरीलाई राजेशमान सिंहले आफ्नै छोरी ‘रविना श्रेष्ठ’का रूपमा देखाएर नेपाली नागरिकता दिलाउन योजनाबद्ध रूपमा सरकारी कागजात तयार गरिएको थियो। अनुसन्धानका क्रममा झुट्टा विवरणका आधारमा जन्मदर्ता प्रमाणपत्र बनाइएको, वडा कार्यालयबाट सिफारिस गरिएको तथा जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको तथ्य खुलेको आयोगको दाबी छ।
यस प्रकरणमा तत्कालीन वडा सचिव भिखारी राय, कार्यवाहक वडा अध्यक्ष तुफेल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासनिक अधिकृत षड्कुमार पोखरेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना तथा शाखा अधिकृत पुरुषोत्तम पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
प्रमाण नष्ट र अभिलेख हेरफेरको आरोप
अख्तियारले नागरिकता जारी गर्ने प्रक्रियापछि सरकारी अभिलेख हेरफेर गर्ने, प्रमाण नष्ट गर्ने तथा तथ्य लुकाउने प्रयाससमेत भएको आरोप लगाएको छ। आयोगका अनुसार नागरिकतासम्बन्धी महत्वपूर्ण सरकारी कागजात नष्ट गरिएको र त्यसलाई कमजोर पार्ने उद्देश्यले भ्रामक प्रतिवेदन तयार गरिएको थियो।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक पुष्कर राना र सदस्य पुरुषोत्तम पोखरेलमाथि पनि वास्तविक तथ्यलाई कमजोर बनाउने गरी प्रतिवेदन तयार पारेको आरोप लागेको छ।
खोज पत्रकारिताको पक्षमा अदालतको सन्देश
पत्रकार जियालाल साहविरुद्ध दायर गरिएका चारवटै मुद्दामा अदालतबाट सफाइ पाएसँगै सार्वजनिक सरोकारका विषयमा गरिने खोज पत्रकारिताको संवैधानिक तथा कानुनी अधिकारलाई न्यायालयले संरक्षण गरेको सन्देश गएको छ।
साथै, पत्रकार साहले सार्वजनिक गरेको समाचारकै आधारमा सुरु भएको अनुसन्धान भ्रष्टाचार मुद्दासम्म पुगेको छ भने उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ। यस प्रकरणका मुख्य आरोपित राजेशमान सिंह हाल निलम्बनमा रहेका छन्।
समाज
थप सामाग्री-
गृह प्रशासन सुधार र विपद् पुनःनिर्माणलाई प्राथमिकता दिँदैछौँ : गृहमन्त्री गुरुङ
-
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
-
आज देशभर मनसुनी प्रभाव, काठमाडौँसहित विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
होल्डिङ सेन्टरबाट जबरजस्ती हटाए शान्तिपूर्ण आन्दोलन गर्ने दल मर्दन कामीको चेतावनी
-
आज असार २३ गते मंगलबार,यस्तो छ तपाईको राशिफल
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
१ दिन अगाडि
1.2kViews 229 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौैंको काडाघारी क्षेत्रकी ३३ वर्षीया गोमा डुङेल सम्पर्कविहीन भएपछि…





