‘भ्रष्टाचारको सुरुवात शक्तिशाली अधिकारीको निजी जीवनबाट पनि हुन सक्छ’ : रामेश्वर खनाल

काठमाडौं । पूर्वअर्थसचिव तथा अर्थविद् रामेश्वर प्रसाद खनालले सार्वजनिक पदमा रहेका शक्तिशाली अधिकारीहरूको निजी व्यवहार र जीवनशैलीले समेत भ्रष्टाचार र कुशासनको आधार तयार गर्न सक्ने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले शक्तिशाली अधिकारीको घरमा आउने–जाने व्यक्तिहरूले चाकडी गर्ने, उपहार ल्याउने, परिवारसँग निकटता बढाउने र त्यसैको माध्यमबाट प्रभाव विस्तार गर्दै अन्ततः निर्णय प्रक्रियामै हस्तक्षेप गर्न सक्ने अवस्था सिर्जना हुने बताएका छन्।

उनका अनुसार घरका सदस्यमार्फत शक्तिशाली अधिकारीसम्म पहुँच बनाउने प्रवृत्तिले संस्थागत निर्णय प्रक्रियालाई प्रभावित पार्ने जोखिम रहन्छ। यस्तो संस्कृतिले सम्बन्धित निकायका तल्लो तहका कर्मचारीमाथि समेत दबाब सिर्जना गर्ने र अन्ततः भ्रष्टाचार तथा कुशासनलाई बढावा दिने उनको भनाइ छ।

खनालले आफ्नो स्टाटसमा, “जेनजी विद्रोहअघिको हाम्रो शासकीय संयन्त्रमा रहेको रोगको जड यही थियो,” उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमसँग समेत आफ्नो टिप्पणी जोडेका छन्।

उनले यो धारणा काठमाडौंको एक होटलमा उच्च सरकारी अधिकारीहरूसँग सम्बन्धित घटनाबारे आफूले एक प्रत्यक्षदर्शी व्यवसायीबाट सुनेको विवरणका आधारमा लेखिएको स्पष्ट पारेका छन्। यद्यपि, उनले कुनै व्यक्ति वा निकायको नाम भने उल्लेख गरेका छैनन्।

Facebook Comments Box
TOP
234 Shares