

विश्वकप निःशुल्क हेर्ने प्रलोभनमा नेपाली ठगिँदै, १५० भन्दा बढीले गुमाए तीन करोडभन्दा बढी रकम
काठमाडौं । फिफा विश्वकप फुटबल अनलाइनमार्फत निःशुल्क हेर्न पाइने प्रलोभनमा परेर ठगिने नेपालीको संख्या १५० नाघेको छ। साइबर ठगीको यो जालोमा परेका नेपाली नागरिकले डेढ महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी रकम गुमाइसकेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार विश्वकप निःशुल्क हेर्ने नाममा फैलाइएको स्क्याममा संलग्न मुख्य अभियुक्त भने हालसम्म पक्राउ पर्न सकेका छैनन्। ठगीमा संलग्न अधिकांश स्क्यामर विदेशबाट सक्रिय रहेको देखिएकाले अनुसन्धान जटिल बनेको ब्युरोले जनाएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार विश्वकप हेर्ने प्रलोभनमा ठगिएका पीडितमध्ये हालसम्म १५० भन्दा बढीले ब्युरोमा जाहेरी दिएका छन्। उनीहरूबाट तीन करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
“निःशुल्क फुटबल हेर्न पाइने भन्दै फैलाइएको प्रलोभनमा धेरै नेपाली युवा परेका छन्। डेढ महिनामै ठूलो रकम ठगी भएको देखिन्छ। ठगीमा पर्ने सबै नेपाली नागरिक भए पनि स्क्यामरहरू विदेशी रहेको देखिएको छ,” एसपी गिरीले भने।
ब्युरोका अनुसार यस घटनासम्बन्धी पहिलो जाहेरी गत ६ जेठमा परेको थियो। त्यसयता १५० वटा जाहेरी दर्ता भएका छन्। तर, वास्तविक पीडितको संख्या र ठगी भएको रकम अझै धेरै हुन सक्ने प्रहरीको अनुमान छ। ठूलो रकम गुमाउनेहरूले मात्रै जाहेरी दिने गरेका कारण सानो रकम गुमाउने धेरै पीडित प्रहरीको सम्पर्कमा नआएको ब्युरोले जनाएको छ।
एप डाउनलोड गराएर बैंकिङ एप ह्याक
अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएको नयाँ शैली निकै जोखिमपूर्ण देखिएको छ। स्क्यामरहरूले सामाजिक सञ्जालमार्फत विश्वकप निःशुल्क हेर्न मिल्ने भन्दै विभिन्न एप वा एपीके फाइल डाउनलोड गर्न लगाउने गरेका छन्।
उक्त एप मोबाइलमा इन्स्टल गरेपछि विभिन्न अनुमति (एक्सेस) माग्ने र प्रयोगकर्ताले सबै अनुमति दिएपछि मोबाइलमा रहेका बैंकिङ एप तथा संवेदनशील विवरणमा पहुँच पुग्ने गरेको ब्युरोले जनाएको छ।
पीडितहरूले मोबाइलमा बैंक खाताबाट रकम ट्रान्सफर भएको सूचना आएपछि मात्रै आफू ठगिएको थाहा पाउने गरेका छन्।
एसपी गिरीका अनुसार ठगीमा नेपाली नागरिककै बैंक खाता समेत प्रयोग भएको देखिएको छ। रकम विभिन्न तह हुँदै अन्ततः एउटै खातामा जम्मा हुने गरेको अनुसन्धानबाट खुलेको छ।
“फुटबल देखाइदिने भन्दै एप डाउनलोड गराइन्छ। त्यसैमार्फत बैंकिङ एप ह्याक गरी रकम अर्को खातामा सार्ने गरिएको छ। घटनामा नेपाली बैंक खाता प्रयोग भएको देखिन्छ। विभिन्न तह हुँदै रकम ट्रान्सफर भएको पाइएको छ,” उनले भने।
नेपाली नम्बरबाट विदेशी अपरेसन
साइबर ब्युरोका अनुसार स्क्याममा प्रयोग भएका अधिकांश मोबाइल नम्बर नेपाली देखिए पनि त्यसको सञ्चालन भने विदेशबाट भइरहेको छ। ठगीका लागि ह्वाट्सएप, भाइबरलगायत सामाजिक सञ्जालको प्रयोग भएको पाइएको छ।
कतिपय स्क्यामरको पहिचान खुले पनि अन्तरदेशीय कानुनी प्रक्रियाका कारण तत्काल पक्राउ गर्न नसकिएको ब्युरोले जनाएको छ।
“स्क्याममा प्रयोग भएका नम्बर नेपाली नै छन्, तर अपरेसन विदेशबाट भइरहेको देखिन्छ। केही व्यक्तिको पहिचान खुले पनि अन्तरदेशीय समस्या भएकाले पक्राउ गर्न कठिनाइ भइरहेको छ,” एसपी गिरीले बताए।
सट्टेबाजीमा समेत निगरानी
विश्वकप फुटबलसँग जोडिएर अनलाइन ठगीसँगै अवैध सट्टेबाजीसमेत सक्रिय रहेको सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि निगरानी बढाएको छ।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार सट्टेबाजीसम्बन्धी हालसम्म औपचारिक जाहेरी भने दर्ता भएको छैन। तर, सम्भावित गतिविधिमाथि निगरानी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले विश्वकप, खेलकुद वा अन्य लोकप्रिय घटनाको नाममा आउने निःशुल्क सेवा, उपहार वा आकर्षक अफरप्रति सचेत रहन आग्रह गरेको छ। अपरिचित एप डाउनलोड नगर्न, अनावश्यक अनुमति नदिन र बैंकिङ विवरण सुरक्षित राख्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
समाज
थप सामाग्री-
बाल मन्दिर जग्गा प्रकरणमा सीआईबीको ठूलो कदम : रकम हिनामिना आरोपमा तीन जना पक्राउ
-
सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरी जिल्ला तानिए, भिडियोबारे सोधपुछ हुने
-
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेको २४ सै घण्टा सडक निगरानी, व्यवस्थित यातायातका लागि निरन्तर सक्रियता
-
भाषा दक्षताले शान्ति अभियानलाई थप प्रभावकारी बनाउँछ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की
-
देशभर मनसुन सक्रिय : आज पनि चट्याङसहित वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१४ घण्टा अगाडि
2.0kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…





