२५ जनाको ज्यान लिने ‘ध्रुवे’ हात्ती फेरि नियन्त्रणमा लिने तयारी, नयाँ रेडियो कलर जडान गरिने

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वर्षौंदेखि मानव बस्तीमा आतंक मच्चाउँदै आएको जंगली भाले हात्ती ‘ध्रुवे’लाई पुनः नियन्त्रणमा लिएर नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। निकुञ्ज प्रशासनका अनुसार ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको ज्यान गएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई डार्ट प्रयोग गरी बेहोस बनाएपछि दाह्रा छोट्याइने र अत्याधुनिक रेडियो कलर जडान गरिनेछ। यसअघि जडान गरिएको रेडियो कलर प्रभावकारी रूपमा सञ्चालन हुन छाडेपछि नयाँ उपकरण जडान गर्न लागिएको हो।

निकुञ्जका अनुसार नयाँ रेडियो कलरमार्फत ध्रुवे मानव बस्तीमा प्रवेश गर्नेबित्तिकै सम्बन्धित निकाय र स्थानीयलाई तत्काल सूचना उपलब्ध गराउन सकिनेछ।

गत शनिबार भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्जले ध्रुवेमाथि निगरानी बढाएको हो। घटनापछि ध्रुवेले मेघौलीको गोलाघाट क्षेत्रमा सामुदायिक वनको गेट भत्काएर दुई घरमा प्रवेश गरी अन्नसमेत नष्ट गरेको थियो।

निकुञ्जको अभिलेखअनुसार ध्रुवेले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको हो। २०६९ सालसम्म १५ जनाको ज्यान लिइसकेको यस हात्तीलाई त्यसबेला मार्ने निर्णयसमेत भएको थियो। केही वर्ष शान्त देखिए पनि पछिल्ला घटनापछि ध्रुवे पुनः उच्च जोखिमको सूचीमा परेको निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल करिब ४५ देखि ५० वटा जंगली हात्ती रहेको अनुमान गरिएको छ। तीमध्ये ध्रुवे मानव बस्तीमा पटक–पटक प्रवेश गरी आक्रमण गर्ने सबैभन्दा जोखिमपूर्ण हात्तीका रूपमा चिनिन्छ।

यसैबीच, हात्तीको आक्रमण र आगलागीबाट प्रभावित बोटे परिवारको घर पुनर्निर्माणका लागि निकुञ्ज, विपद् व्यवस्थापन समिति तथा अन्य सम्बन्धित निकायले सहयोग प्रक्रिया अघि बढाएका छन्।

Facebook Comments Box
सात जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यकासहित चार जिल्लामा संक्रमण अझै कायम
१ दिन अगाडि

1.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु…

TOP
168 Shares