गृहमन्त्री गुरुङद्वारा सीआईबीको आकस्मिक निरीक्षण, अनुसन्धान प्रगतिबारे लिए जानकारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को आकस्मिक निरीक्षण गरेका छन्।

कोशी प्रदेशका सुनसरी, धनकुटा र झापा जिल्लाको भ्रमण सकेर काठमाडौं फर्किएलगत्तै मंगलबार साँझ गृहमन्त्री गुरुङ लाजिम्पाटस्थित सीआईबी मुख्यालय पुगेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सीआईबीको अनुसन्धान गतिविधि, संस्थागत सञ्चालन अवस्था तथा पछिल्लो समय चर्चामा रहेका महत्वपूर्ण मुद्दाहरूको प्रगतिबारे जानकारी लिएका थिए। उनले ब्यूरोको कार्यसम्पादन, अनुसन्धानको प्रभावकारिता र आगामी प्राथमिकताबारे समेत चासो राखेका थिए।

गृहमन्त्रीको भ्रमणका क्रममा सीआईबी नेतृत्वले ब्यूरोले अघि बढाइरहेका अनुसन्धान, अपराध नियन्त्रणका प्रयास र विभिन्न जटिल प्रकृतिका मुद्दामा भइरहेको प्रगतिबारे जानकारी गराएको थियो।

हाल सीआईबीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्बेदीले सम्हालिरहेका छन्। मन्त्रिपरिषद्को असार १८ गतेको निर्णयअनुसार एआईजी डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागमा सरुवा गरिएको थियो भने चतुर्बेदीलाई असार १९ गतेदेखि सीआईबीको जिम्मेवारी दिइएको हो।

गृहमन्त्री गुरुङको सीआईबी निरीक्षणलाई सुरक्षा निकायको अनुसन्धान क्षमता, संस्थागत सुधार र महत्वपूर्ण अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सरकारको प्राथमिकतासँग जोडेर हेरिएको छ।

Facebook Comments Box
TOP
370 Shares