शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावली पारित, जेकाद्वारा विरोध

काठमाडौं । सरकारले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गर्दै शैक्षिक परामर्श संस्थाको सञ्चालन, व्यवस्थापन र नियमनका लागि नयाँ व्यवस्था लागू गरेको हो।

नियमावलीअनुसार शैक्षिक परामर्श संस्थाले २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने र ५० हजार रुपैयाँ अनुमति पत्र दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, नगद कारोबारमा रोक लगाउँदै सबै शुल्क बैंक वा डिजिटल माध्यमबाट मात्रै लिनुपर्ने प्रावधान राखिएको छ।

विद्यार्थी हित संरक्षणका लागि विदेशमा अलपत्र परेमा वा अवैध शैक्षिक संस्थामा भर्ना गराइएमा सम्बन्धित परामर्श संस्थाले क्षतिपूर्ति व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। विदेशी लगानी भएका संस्थाले एक वर्षभित्र स्वदेशी स्वामित्वमा नामसारी गर्नुपर्ने तथा विदेश अध्ययन लक्षित शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न नपाइने प्रावधान पनि नियमावलीमा समेटिएको छ।

यस्तै, सेवा गुणस्तरका आधारमा परामर्श संस्थालाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ।

यता, नेपाल शैक्षिक परामर्श संघ (JECA) ले भने नियमावलीप्रति असन्तुष्टि जनाएको छ। संघले सरोकारवालासँग पर्याप्त छलफल नगरी अव्यावहारिक प्रावधान समेटिएको दाबी गर्दै नियमावलीको विरोध गरेको हो।

संघका अनुसार नयाँ व्यवस्थाले विद्यार्थी र अभिभावकमाथि थप आर्थिक भार पर्ने, ठूला व्यवसायीलाई फाइदा पुग्ने, साना परामर्श संस्था विस्थापित हुने तथा छिटो, सहज र विश्वासिलो सेवा प्रभावित हुन सक्ने जोखिम रहेको छ।

सरकारले नियमावलीले शैक्षिक परामर्श क्षेत्रलाई थप पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ भने जेकाले यसको पुनरावलोकन गर्न माग गरेको छ।

Facebook Comments Box
आज असार २५ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
११ घण्टा अगाडि

1.9kViews 156 Shares Share on Facebook Share on Twitter मेष- जीवनसाथी वा प्रेमी–प्रेमिकाबाट अपेक्षित साथ र सहयोग प्राप्त हुने सम्भावना छ…

TOP
328 Shares