आकाशे पानीको भरबाट मुक्त हुँदै इलामका किसान, सिँचाइ पुगेपछि बढ्यो उत्पादनको आशा

इलाम । वर्षौंदेखि आकाशे पानीको भरमा धानखेती गर्दै आएका इलामको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगर यस वर्ष ढुक्क छन् । गाउँमा पक्की सिँचाइ कुलो निर्माण भएपछि समयमै खेतमा पानी पुग्न थालेको छ भने किसानको पुरानो समस्या हटेको छ ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत ट्वाङ्ग्रे खोलाबाट ट्वाङ्ग्रे–बालबाँसे सिँचाइ कुलो निर्माण भएपछि मालबाँसेका ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । रु ३० लाख ३६ हजार लागतमा निर्माण भएको उक्त कुलोले वर्षौंदेखि आकाशे पानी कुर्नुपर्ने बाध्यताको अन्त्य गरेको उपभोक्ता समिति अध्यक्षसमेत रहेका मगरले बताए ।

“पहिले पानी पर्ने समय पर्खेरै बित्थ्यो, समयमा पानी नपर्दा खेती नै प्रभावित हुन्थ्यो । अहिले सुरुदेखि नै सिँचाइ सुविधा पुगेपछि ठूलो राहत मिलेको छ,” मगरले भने ।

माङसेबुङ–५ का किसान टीकाराम केरुङको समस्या पनि उस्तै थियो । पानी अभावका कारण कतिपय खेत बाँझै राख्नुपर्ने बाध्यता थियो । तर मेवा खोला सिँचाइ योजनाबाट पक्की कुलो निर्माण भएपछि खेतमा नियमित पानी आउन थालेको छ । यससँगै स्थानीय किसानमा नयाँ उत्साह थपिएको केरुङले बताए ।

माङसेबुङ गाउँपालिकाका चार वडामा सञ्चालन भएका आठ वटा साना सिँचाइ योजनाले अहिले सयौँ किसानको जीवनमा परिवर्तन ल्याएको छ । बाँझो रहेका खेतमा पानी पुगेपछि किसानले धान, मकै, कोदो, तरकारी तथा नगदेबाली उत्पादन गर्न थालेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा माङसेबुङमा रु एक करोड १७ लाख ४१ हजार ७११ लागतमा मर्मतसम्भारसहित आठ वटा पक्की कुलो निर्माण सम्पन्न भएका छन् । वडा नं ४ को रतुवाखोला–बाघमारा–सिङफेरे–मार्चेबुङ सिँचाइ योजना रु १० लाख ४५ हजार ३९ थप लागतमा सम्पन्न भएको छ भने वडा नं ५ को मेवाखोला सिँचाइ योजना रु २४ लाख ९१ हजार ८१२ लागतमा निर्माण भएको छ ।

गत असोजमा आएको भीषण वर्षापछि बाढीले क्षति पुर्‍याएका पाँच वटा सिँचाइ योजनाको समेत मर्मत सम्पन्न गरिएको छ । माङसेबुङ गाउँपालिका साना सिँचाइ कार्यक्रमका फोकल पर्सन इन्जिनियर युवराज दाहालका अनुसार क्षतिग्रस्त योजनाहरू पुनः सञ्चालनमा ल्याइएपछि थप किसान लाभान्वित भएका छन् ।

सिँचाइ सुविधा विस्तारसँगै माङसेबुङका करिब चार हजार रोपनी क्षेत्रफलमा खेतीयोग्य जमिनमा पानी पुगेको छ । यसबाट ५०० भन्दा बढी घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

यो सिँचाइ कार्यक्रम स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको २०/२० प्रतिशत तथा उपभोक्ताको १० प्रतिशत लागत साझेदारीमा सञ्चालन भएको हो ।

सिँचाइ पुगेपछि माङसेबुङमा रैथाने अन्नबाली, नगदेबाली र तरकारी खेतीको उत्पादन बढ्ने अपेक्षा गरिएको छ । स्थानीय किसानले अब धान, मकै, कोदो, फापर, गहुँसँगै अलैँची, अदुवा, कफी, आलु, अम्रिसो तथा टमाटर, अकबरे खुर्सानी, काउली, बन्दा र सिमी जस्ता बाली व्यावसायिक रूपमा उत्पादन गर्न थालेका छन् ।

कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने, स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्ने उद्देश्यले स्वीस सरकारको सहयोगमा इलामका विभिन्न पालिकामा साना सिँचाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

माङसेबुङका किसानका लागि पक्की कुलो केवल पानी ल्याउने माध्यम मात्र बनेको छैन, यो गाउँको कृषि भविष्य बदल्ने आधारसमेत बनेको छ ।

Facebook Comments Box
TOP
251 Shares