
नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न, केही दिनमै लक्ष्य पूरा हुने अपेक्षा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्षको धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ। जिल्लामा धानखेती हुने कुल १८ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म करिब १४ हजार ८०० हेक्टर (८० प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ।
कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ सञ्जय ढकालका अनुसार पछिल्ला दिनमा निरन्तर वर्षा भएपछि विशेषगरी तराई क्षेत्रका अधिकांश स्थानमा रोपाइँले तीव्र गति लिएको छ। गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा रोपाइँ अन्तिम चरणमा पुगेको छ भने विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकाका केही स्थानमा अझै रोपाइँ जारी रहेको उनले बताए।
“मनसुन सुरुआतमा केही कमजोर रहे पनि पछिल्ला दिनमा पर्याप्त वर्षा भएकाले किसानले धमाधम रोपाइँ गरिरहेका छन्,” ढकालले भने, “मौसम अनुकूल रहे आगामी केही दिनमै जिल्लाभर लक्ष्यअनुसार रोपाइँ सम्पन्न हुने अपेक्षा गरेका छौँ।”
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल ६१ हजार ३०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ५५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ भने बाँकी ४५ प्रतिशत क्षेत्र अझै आकाशे पानीमा निर्भर छ। सिँचाइ नपुगेका क्षेत्रमा वर्षा भएपछि मात्रै रोपाइँ सम्भव हुने भएकाले यस वर्ष समयमै भएको वर्षाले किसानलाई ठूलो राहत पुगेको छ।
जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवा तथा विभिन्न हाइब्रिड जातका धान खेती हुँदै आएको छ। यहाँ धानको औसत उत्पादकत्व प्रतिहेक्टर करिब तीन टन रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको करिब १८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। चालु आर्थिक वर्षका लागि १८ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य राखिएको छ। कृषि प्राविधिकहरूका अनुसार आगामी केही दिन मौसम अनुकूल रहे जिल्लाभर लक्ष्यअनुसार रोपाइँ सम्पन्न हुने विश्वास गरिएको छ।
समाज
थप सामाग्री-
विवादित पृष्ठभूमिका सर्वजीत झा छिपहरमाईको प्रमुख प्रशासकीय अधिकृतमा आउँदै
-
डीआईजीदेखि इन्सपेक्टरसम्म सरुवा तयारी, प्रदेशदेखि जिल्लासम्म प्रहरी नेतृत्व फेरिँदै
-
आजको राशिफल : यी राशिका लागि दिन विशेष फलदायी
-
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन
-
गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो
बाढी–पहिरोको कहर : देशभरका प्रमुख राजमार्गमा यातायात प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन
८ घण्टा अगाडि
650Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण देशका विभिन्न…





