फेक सूचनाको फन्दामा मोरङ प्रहरी : मुन्दडा निवास छापा प्रकरणले उठायो अपरेसन शैलीमाथि प्रश्न

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान गरिएको प्रहरी छापा अहिले सुरक्षा संयन्त्रभित्रै बहसको विषय बनेको छ। ठूलो तयारी, भारी सुरक्षाकर्मी परिचालन, ड्रोन प्रयोग र सडक नै नियन्त्रणमा लिएर गरिएको अपरेसनपछि पनि केही फेला नपरेपछि प्रहरीको सूचना संयन्त्र र कार्यशैलीमाथि प्रश्न उठेको हो।

झिसमिसेमै पुगेको प्रहरी टोली करिब पाँच घण्टासम्म मुन्दडा निवास र कार्यालय क्षेत्रमा परिचालन भएको थियो। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको नेतृत्वमा १० भन्दा बढी प्रहरी गाडी, ठूलो संख्यामा सुरक्षाकर्मी र ड्रोनसहित गरिएको अपरेसन सामान्य खानतलासीभन्दा निकै ठूलो देखिएको थियो।

तर, पाँच घण्टाको खोजतलासपछि प्रहरीले न सुन भेट्यो, न नगद, न त कुनै अवैध सामग्री नै। त्यसपछि प्रहरीले गरेको तयारी र सूचनाको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले पनि अपरेसनको शैलीप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार सूचना संवेदनशील भए पनि पुष्टि नगरी ठूलो दलबलसहित अगाडि बढ्दा गलत सन्देश गएको हो।

“सकेसम्म सादा पोसाकमा जानु, धेरै हल्लाखल्ला नगर्नु र अनावश्यक हैरानी नहुने गरी पुष्टि गरेर मात्र अघि बढ्नु भनेको थिएँ,” डीआईजी खनालले भनेका छन्।

उनले आतंकवादी नियन्त्रण गरेजस्तो शैलीमा गरिएको अपरेसन आवश्यक नभएको स्वीकार गर्दै प्रक्रियागत कमजोरी भएको संकेत गरे।

“त्यो दलबलका साथ गएर त्यत्रो ठूलो… आतंकवादीलाई नै घेरा हालेजस्तो भयो। अलिकति त्यति साह्रो नगरेको भए हुन्थ्यो कि भन्ने हामीलाई पनि फिल भयो,” खनालको भनाइ छ।

उद्योगी–व्यवसायीमा त्रास, प्रहरीको स्पष्टीकरण

मुन्दडा निवासमा छापा मारिएको विषय देशभर चर्चामा आएपछि उद्योगी–व्यवसायी क्षेत्रबाट प्रहरीको शैलीप्रति आलोचना सुरु भयो। व्यवसायीलाई आतंकित बनाउने काम भएको भन्दै विभिन्न धारणा सार्वजनिक भए।

परिस्थिति सामान्य बनाउन डीआईजी खनालले मंगलबार विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरे। उनले प्रहरीको उद्देश्य व्यवसायीलाई त्रसित बनाउने नभई प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्नु रहेको स्पष्ट पारे।

“व्यवसाय गर्ने अधिकार सबैलाई छ। प्रहरी सधैं सुरक्षा र सहयोगका लागि तयार छ। तर, अपरेसनका क्रममा भएका प्रक्रियागत त्रुटि सुधार गरिनेछ,” खनालले प्रतिबद्धता जनाए।

मुन्दडा निवासमा अर्बौं रुपैयाँ नगद, सयौं किलो सुन र हातहतियार रहेको दाबी गरिएको उजुरीका आधारमा प्रहरीले खानतलासी गरेको जनाएको छ। उजुरीमा मोबाइल नम्बरसमेत उल्लेख गरी गम्भीर आरोप लगाइएको प्रहरी स्रोतको भनाइ छ।

प्रधानमन्त्री कार्यालयबाट सूचना आएको दाबी

सुरक्षा स्रोतका अनुसार सुरुमा करिब ५०० किलो पहेँलो धातु (सुन) भण्डारण गरिएको सूचना आएको र त्यसकै आधारमा ठूलो अपरेसन गरिएको थियो।

“प्रहरी यो अपरेसन सफल हुनेमा पूर्ण विश्वस्त थियो। त्यसैले ड्रोनसहित ठूलो टोली परिचालन गरिएको थियो,” एक सुरक्षा अधिकारीले बताए।

तर, पछि सूचना नै गलत भएको निष्कर्षमा प्रहरी पुगेको स्रोतको दाबी छ। सामान लुकाइएको आशंका गरिएको भए पनि सूचना चुहावटभन्दा पनि सूचनाकै विश्वसनीयतामाथि प्रश्न उठेको बताइएको छ।

यद्यपि, डीआईजी खनालले माथिल्लो निकायको निर्देशनमा अपरेसन गरिएको भन्ने चर्चा केवल हल्ला भएको बताएका छन्। तर सुरक्षा क्षेत्रका केही अधिकारीहरू भने यति ठूलो स्तरको अपरेसन जिल्लास्तरबाट मात्रै निर्णय भएर हुन नसक्ने दाबी गर्छन्।

मोरङ प्रहरी फेरि फेक सूचनाको सिकार ?

मोरङ प्रहरीले पछिल्ला केही महिनामा विशेष सूचनाका आधारमा गरेका केही अपरेसन पनि परिणामविहीन भएका उदाहरण छन्।

गत १३ साउनमा विराटनगरका अभिषेक गिरीको निवासमा अवैध हतियार रहेको आशंकामा छापा मारिएको थियो। तर, त्यहाँ पनि प्रहरीले खोजेको सामग्री भेटिएन।

त्यस्तै, असार ४ गते प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा फरार प्रतिवादी लुकेको सूचनाका आधारमा राति खानतलासी गरिएको थियो। उक्त सूचना पनि गलत सावित भयो।

यसअघि आईपीएल सट्टेबाजीको आरोपमा पक्राउ गरिएका चार जनामाथि पनि अनुसन्धान गर्दा आरोप पुष्टि नभएपछि प्रहरीले उनीहरूलाई छाड्नुपरेको थियो।

सूचना संयन्त्र सुधारको चुनौती

मुन्दडा निवास प्रकरणले प्रहरीको अनुसन्धान प्रणाली, सूचना प्रमाणीकरण प्रक्रिया र अपरेसन सञ्चालन शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

अपराध नियन्त्रणका लागि सूचना प्रहरीको सबैभन्दा महत्वपूर्ण आधार भए पनि गलत सूचनाको भरमा गरिने ठूलो अपरेसनले प्रहरीको विश्वसनीयतामै असर पार्न सक्छ।

अब चुनौती भनेको सूचना दिने स्रोतको विश्वसनीयता परीक्षण गर्ने, अपरेसनअघि पर्याप्त प्रमाणीकरण गर्ने र नागरिक तथा व्यवसायीको प्रतिष्ठामा असर नपर्ने गरी अनुसन्धान प्रक्रिया अघि बढाउने रहेको सुरक्षा विज्ञहरूको भनाइ छ।

Facebook Comments Box
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
३ दिन अगाडि

2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…

TOP
15 Shares