

मनसुन विपद्का लागि २६ हजारभन्दा बढी सुरक्षाकर्मी तयारी अवस्थामा, ‘१२३४’ टोल फ्री सेवा सञ्चालन

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि सरकार पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले देशभर २६ हजार २ सय १९ जना सुरक्षाकर्मी तत्काल परिचालनका लागि तयारी अवस्थामा राखिएको जानकारी दिए।
उनका अनुसार विपद्का बेला नागरिकलाई सहज रूपमा सहायता उपलब्ध गराउन नेपाल टेलिकमसँगको सहकार्यमा ‘१२३४’ टोल फ्री सेवा सञ्चालनमा ल्याइएको छ। जोखिममा परेका नागरिकले उक्त नम्बरमा सम्पर्क गरी उद्धार तथा आवश्यक सहयोग माग्न सक्ने व्यवस्था गरिएको उनले बताए।
गृहमन्त्रीका अनुसार विपद् प्रतिकार्यका लागि नेपाली सेनाका ७ हजार ५ सय २४, नेपाल प्रहरीका १० हजार ५ सय ७५ र सशस्त्र प्रहरी बलका ८ हजार १ सय १० गरी कुल २६ हजार २ सय १९ जना जनशक्ति तयारी अवस्थामा छन्। यसमध्ये १५३ जना गोताखोरसमेत रहेका छन्।
सरकारले १९७ वटा दमकल, ४६० वटा एम्बुलेन्स, ६१२ वटा उद्धार डुङ्गा, १६३ वटा एस्काभेटर तथा १३ वटा पोर्टेबल पुल पनि तयारी अवस्थामा राखेको जनाएको छ। आवश्यक परे निजी क्षेत्रसँगको सहकार्यमा हेलिकप्टर, र्याफ्टिङ तथा ड्रोन सेवा परिचालन गर्ने व्यवस्था मिलाइएको मन्त्री गुरुङले बताए।
सडक अवरोध हटाउने कार्यलाई प्रभावकारी बनाउन ‘सेतु’ एप सञ्चालनमा ल्याइएको र विपद्को पूर्वसूचना छिटो र प्रभावकारी रूपमा प्रवाह गर्न ‘सेल ब्रोडकास्टिङ सिस्टम’ प्रयोगको तयारी भइरहेको पनि उनले जानकारी दिए।
अनुसन्धानका विषयमा बोल्दै गृहमन्त्री गुरुङले अनुसन्धान प्रक्रियाको गोपनीयता कायम राख्नु आवश्यक रहेको बताए। अनुसन्धानका विवरण सार्वजनिक गर्दा अपराध अनुसन्धान प्रभावित हुन सक्ने भएकाले जिम्मेवारीपूर्वक प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।
विपद् व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई उद्धार सामग्री खरिद गर्न ७ करोड ६२ लाख रुपैयाँ तथा २८ जिल्लामा उद्धार डुङ्गा खरिदका लागि १ करोड ४४ लाख रुपैयाँ निकासा भइसकेको उनले जानकारी दिए। हाल प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन कोषमा कुल ७ अर्ब ५६ करोड रुपैयाँ मौज्दात रहेको पनि उनले बताए।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यकारी प्रमुख नियुक्त भएसँगै संस्थागत रिक्तता अन्त्य भएको र केन्द्रदेखि जिल्ला तहसम्मका कमान्ड पोस्ट २४सै घण्टा सक्रिय अवस्थामा रहेको जानकारी दिए।
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापन सरकारको मात्र नभई सम्पूर्ण राज्य संयन्त्र, स्थानीय तह र नागरिक समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जनधनको क्षति न्यूनीकरणका लागि सरकार आवश्यक सबै तयारीका साथ अघि बढिरहेको स्पष्ट पारे।
समाज
थप सामाग्री-
आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन ?
-
कानुनी व्यवस्था र विभागीय पत्र बेवास्ता, जलजलाकी वडा सचिव अर्यालको विवादास्पद निर्णयले अन्तरलिंगी मायाले भोगिन् प्रशासनिक सास्ती
-
रिक्त एसएसपी पदका लागि चार अधिकृतबीच प्रतिस्पर्धा, वरिष्ठता र कार्यसम्पादन मुख्य आधार बन्ने
-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
2.6kViews 15 Shares Share on Facebook Share on Twitter ♈ मेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। भौतिक…





