यस्तो थियोे माननीयको विगत : खगेन्द्र सुनारविरुद्ध तीन फौजदारी मुद्दा, एकमा २० हजार जरिवाना र अर्कोमा ५० हजार धरौटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाँके–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारविरुद्ध विभिन्न प्रकृतिका तीनवटा फौजदारी मुद्दा चलेको विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरणअनुसार सुनारविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर, स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात र विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा परेको देखिन्छ।

विवरणअनुसार २०८० असार ३ गते सुनारविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो। जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेशअनुसार उक्त मुद्दामा उनलाई रु. २० हजार जरिवाना गरिएको उल्लेख छ।

त्यसैगरी २०८२ असार ७ गते मेहेलकुना अस्पताल, गुर्भाकोट नगरपालिका–६, सुर्खेतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको तथा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा मुद्दा चलेको विवरणमा उल्लेख छ। उक्त मुद्दा अदालतमा विचाराधीन रहेको जनाइएको छ।

सुनारविरुद्धको अर्को मुद्दा भने विद्युतीय कारोबारसम्बन्धी रहेको छ। अधिवक्ता मनीषा गौतमले सामाजिक सञ्जाल फेसबुक पोस्ट तथा लाइभमार्फत आफूलाई अपमानजनक र आपत्तिजनक भाषा प्रयोग गरेको आरोपमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको माग गर्दै २०८२ साउन २ गते मुद्दा दर्ता गराएको विवरणमा उल्लेख छ।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८२ साउन ५ गते प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको थियो। त्यसपछि अदालतमा उपस्थित भएर बयान दिएका सुनारलाई बयान तथा थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले रु. ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको विवरणमा उल्लेख छ।

यसरी निर्वाचित जनप्रतिनिधिको हैसियतमा संसद् प्रवेश गरेका सुनारको नामसँग जोडिएका फौजदारी प्रकृतिका मुद्दा, जरिवाना र अदालतबाट भएको धरौटी आदेश सम्बन्धी विवरण अहिले सार्वजनिक बहसको विषय बन्न सक्ने देखिएको छ।

यद्यपि, अदालतमा विचाराधीन मुद्दालाई अन्तिम दोषसिद्धिका रूपमा प्रस्तुत गर्न मिल्दैन। सम्बन्धित मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म आरोपित व्यक्तिलाई कानुनी रूपमा निर्दोष मानिने न्यायिक सिद्धान्त लागू हुन्छ।

निर्वाचन परिणामअनुसार सुनार बाँके–३ बाट २९ हजार ५५१ मतसहित निर्वाचित भएका हुन्।

Facebook Comments Box
TOP
15 Shares