राष्ट्रियसभा बैठक आज, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक पेस हुँदै

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्।

बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यसैबीच, आजै संघीय संसद्का विभिन्न विषयगत समितिका बैठकसमेत बस्दैछन्। समितिहरूले वित्तीय सङ्घीयता, मानव अधिकार, सामाजिक संस्था, विधि विज्ञान प्रयोगशाला, गृह मन्त्रालयसँग सम्बन्धित उजुरी तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ।

राष्ट्रियसभाको आजको बैठकमा प्रस्तुत हुने विधेयक तथा प्रस्तावले आन्तरिक हवाई सेवासहित विभिन्न सार्वजनिक सरोकारका विषयलाई कानुनी प्रक्रियामा अघि बढाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares