

साढे पाँच महिनापछि आज स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा, कांग्रेसको राष्ट्रिय भेलाअघि काठमाडौं ओर्लिँदै

काठमाडौं । विदेश गएको करिब साढे पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। देउवा पत्नी आरजु राणा देउवासहित बिहीबार दिउँसो थाइल्यान्डबाट काठमाडौं फर्किन लागेका हुन्।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं अवतरण गर्नेछन्। उनको स्वागतका लागि देउवा पक्षले विशेष तयारी गरेको छ।
यसअघि देउवा साउन २६ गते राति नेपाल फर्किने तयारीमा थिए। तर रातिको समयमा स्वागत तथा व्यवस्थापनमा कठिनाइ हुनसक्ने भन्दै उनको आगमन दुई दिनपछि दिउँसोका लागि सारिएको बताइएको छ।
देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लागि सिंगापुर पुगेकी थिइन्। पछि दुवै जना थप उपचारका लागि सिंगापुरबाट हङकङ गएको जानकारी दिइए पनि त्यसयता उनीहरू कहाँ रहे भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिइएको थिएन।
यसअघि जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएका उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि नेपाल फर्किएका देउवा फलोअपका लागि पुनः गत फागुनमा सिंगापुर गएको बताइएको थियो।
देउवा दम्पती विदेशमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पक्राउ पुर्जी जारी भएको थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा जारी उक्त पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
यसैबीच कांग्रेसभित्र असन्तुष्टि र आन्तरिक विवाद चुलिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन्। उनको स्वदेश फिर्तीलाई कांग्रेसको आन्तरिक राजनीतिमा समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरिएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा उद्घाटन हुने भेलामा करिब साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ। राष्ट्रिय भेलाको सम्मुखमा देउवा स्वदेश फर्किन लागेकाले कांग्रेसको आन्तरिक शक्ति–सन्तुलन, आगामी रणनीति र संगठनात्मक विषयमा उनको उपस्थितिले थप राजनीतिक बहस जन्माउने अपेक्षा गरिएको छ।
साढे पाँच महिनापछि हुने देउवाको स्वदेश फिर्ती र त्यसलगत्तै आयोजना हुने राष्ट्रिय भेलाले कांग्रेसको पछिल्लो राजनीतिक अवस्थालाई थप निर्णायक मोडतर्फ लैजाने संकेतसमेत देखिएको छ।
समाज
थप सामाग्री
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
२३ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ…





