रोल्पामा पहिरोमा परी १० जनाको मृत्यु, २ जना बेपत्ता

रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। बुधबार साँझ गएको पहिरोमा १४ जना परेका थिए।

घटनास्थलबाट ५ जनाको शव फेला परेको थियो भने प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा थप ५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। पहिरोमा परी घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि बुटवल पठाइएको छ।

घर तथा गोठ पहिरोले पुरिएपछि बेपत्ता भएका दुई जनाको खोजी नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जारी राखेको छ। घटनास्थलमा लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीलगायत सुरक्षाकर्मी पुगेका छन्।

Facebook Comments Box
TOP
Shares