इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीका छाल रेकर्ड

जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय (बीएमकेजी)ले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको भूकम्प करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ। शक्तिशाली धक्का महसुस भएपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ लागेका थिए। भूकम्पपछि लगातार परकम्पसमेत गएका छन्।

राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो मानवीय वा भौतिक क्षति भएको खबर प्राप्त भएको छैन।

भूकम्पपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। बीएमकेजीका अनुसार विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड भएका छन्।

यता, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पका कारण अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।

इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको मुलुक हो। प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।

Facebook Comments Box
TOP
15 Shares