बाढीपहिरोमा मृत्यु हुनेको संख्या ८२३ पुग्यो, ७९१ शव अझै बेवारिसे

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका ८२३ शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन। आइतबार बेलुकासम्म भेटिएका शवमध्ये जम्मा ३२ जनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार भेटिएका शवमध्ये चार प्रतिशतभन्दा कमको मात्रै सनाखत भएको छ। उनका अनुसार धेरै शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको छ।
“आइतबार बेलुकासम्म ८२३ शव भेटिएका छन् र त्यसमा ३२ जनाको मात्र सनाखत भएको छ,” प्रवक्ता काफ्लेले भने, “धेरै शव क्षतविक्षत भएकाले पनि सनाखतमा समस्या भएकोजस्तो देखिन्छ।”
प्रहरीले पहिचानमा सहयोग पुगोस् भनेर भेटिएका शवका तस्बिर वेबसाइटमा राख्नुका साथै छुट्टै हेल्प डेस्कमार्फत आफन्तलाई सहजीकरण गरिरहेको जनाएको छ।
शवको संख्या बढ्दै जाँदा सुरक्षित रूपमा राख्ने ठाउँको अभाव भएपछि सरकारले पहिचान खुल्न नसकेका शवलाई ‘एयरटाइट’ प्लास्टिक झोलामा प्याक गरी माटोमुनि राख्न थालेको छ। शवबाट डीएनए र औँठाछापलगायतका प्रमाण संकलन गरेर सुरक्षित राख्ने र पछि सनाखत खुलेमा परिवारलाई बुझाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरूको भनाइ छ।
तर शवलाई जमिनमुनि गाडेर राख्ने सरकारी निर्णयको कतिपय पक्षबाट आलोचना भइरहेको छ। गृह मन्त्रालयका अधिकारीहरू भने ठूलो संख्यामा शव राख्न तत्काल पर्याप्त रेफ्रिजेरेटर उपलब्ध गराउन नसकिएको र शव व्यवस्थापनका लागि तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आएको बताउँछन्।
आइतबारसम्म २२८ शव जमिनमुनि गाडिएको सरकारी विवरण छ।
बेत्रावतीमा बल्ल पुग्यो प्रहरी टोली
बाढीबाट ठूलो क्षति पुगेको नुवाकोट–रसुवा सीमाक्षेत्रको बेत्रावतीमा खोज तथा उद्धारका लागि आइतबारदेखि प्रहरी टोली परिचालन गरिएको छ। एसएसपीको कमान्डमा प्रहरी टोली त्यहाँ पुगेको हो।
प्रहरी टोलीले शव खोजी तथा उद्धारसँगै शवको मुचुल्का उठाउने र पहिचानका लागि आवश्यक फरेन्सिक प्रक्रिया अघि बढाउने जनाएको छ।
बेत्रावती बजारमा बाढीले सयौँ घर बगाएको छ। बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका कारण कतिपय स्थानमा अझै त्रासदीपूर्ण अवस्था रहेको स्थानीयले बताएका छन्। बाढीले बगाएर ल्याएका शवका कारण बजार क्षेत्रमा दुर्गन्धसमेत फैलिन थालेको उनीहरूको भनाइ छ।
बाढीले घरमा रहेका मानिसलाई समेत बगाएको थियो। त्यसैगरी यात्रुसहित ठूलो संख्यामा सार्वजनिक सवारीसाधनसमेत बाढीले बगाएको बताइएको छ।
रसुवामा पनि आइतबारदेखि प्रहरीको फरेन्सिकसहितको टोली परिचालन गरिएको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। टोलीले शवको खोजी, संकलन, मुचुल्का तथा पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।
बाढीपीडित क्षेत्रमा चोरी र लुटपाटको जोखिम
यसैबीच बाढीपहिरोबाट प्रभावित क्षेत्रमा चोरी तथा लुटपाटका घटना पनि बढ्न थालेका छन्। बाढीले क्षति पुर्‍याएका घरमा अनधिकृत व्यक्तिको प्रवेश हुने तथा घरमा रहेका सामान चोरी हुने गरेको उजुरी प्रहरीमा पर्न थालेका छन्।
बट्टार बजारमा एक वृद्धाको कानको मुन्द्रासमेत लुछिएको घटना सार्वजनिक भएको छ।
उद्धार तथा राहतमा सुरक्षाकर्मीको ठूलो जनशक्ति परिचालन हुँदा प्रभावित क्षेत्रमा सुरक्षा चुनौतीसमेत थपिएको छ। क्षतिग्रस्त घर तथा बजार क्षेत्रमा अनधिकृत प्रवेश रोक्न र पीडितको सम्पत्ति सुरक्षाका लागि सुरक्षा उपस्थिति थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
बाढीपहिरोपछि खोज तथा उद्धार, शवको पहिचान र व्यवस्थापनसँगै प्रभावितको सम्पत्तिको सुरक्षा सरकार र सुरक्षा निकायका लागि अर्को चुनौतीका रूपमा थपिएको छ।

Facebook Comments Box
आज भदौ १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter मेष आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगाव बढ्दा बौद्धिक क्षेत्र फराकिलो…

TOP
15 Shares