सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु, घर–घरमा बिरुडा राखिँदै

डडेल्धुरा । सुदूरपश्चिमको मौलिक एवं सांस्कृतिक पहिचान बोकेको महान् पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व सुरु भएको हो ।

गौराको पहिलो दिन आज व्रतालु महिलाले घर–घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी—मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा राख्ने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ भने गौरादेवीको पूजाआजामा समेत यसको प्रयोग गरिन्छ ।

परम्पराअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारिन्छ । त्यसपछि पञ्च अन्न तथा गेडागुडी भाँडामा भिजाएर बिरुडा तयार गरिन्छ । बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने फाग गाउने गर्छन् ।

आलिताल, डडेल्धुराका ७८ वर्षीय संस्कृतिका जानकार खगेस्वरी भट्टका अनुसार पुत्रदा एकादशीको व्रतपछि भाद्र महिनाको बिरुडा पञ्चमीबाट गौरा पर्व विधिवत् सुरु हुन्छ । परम्पराअनुसार महिलाले केही समयअघिदेखि नै शुद्ध शाकाहार तथा ब्रह्मचर्य पालना गर्ने र बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाउने चलन रहेको उहाँले बताउनुभयो ।

संस्कृतिविद् मुरलीधर अवस्थीका अनुसार बिरुडा भिजाउने क्रममा गाइने फागमा गौरा पर्वसँग जोडिएको धार्मिक तथा सांस्कृतिक कथा प्रस्तुत गरिन्छ । फागमा महिलाले गौरा पर्वको व्रत लिने इच्छा व्यक्त गर्दै महादेव अर्थात् डोटेली भाषामा ‘मयासर’लाई बिरुडाका लागि आवश्यक अन्न तथा गेडागुडी खोजेर ल्याउन आग्रह गरेको प्रसङ्ग समेटिन्छ ।

गौराको दोस्रो दिन षष्ठीमा बिरुडा पखाल्ने र सप्तमी तथा अष्टमीलाई पर्वका विशेष दिनका रूपमा मनाउने गरिन्छ । सप्तमीका दिन धान खेतमा उम्रिएको साउँबाट गौराको प्रतिमा बनाएर ‘गौराघर’मा भित्र्याउने परम्परा छ ।

अष्टमी अर्थात् गौराष्टमीका दिन भने पूजाआजासँगै गौरा नचाउने गरिन्छ । मङ्गलगान, अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहित गौरालाई गौराघरको आँगनमा नचाउने परम्परा रहेको छ । गौराको अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा, डुस्को, धुमारीलगायतका मौलिक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिन्छन् ।

गौरा पर्वमा महिलाले पुरुषले यज्ञोपवीत लगाएझैँ दुबधागो लगाउने गर्छन् । धार्मिक विश्वासअनुसार गौरा पर्वको व्रत तथा पूजाआजाले श्रीमान् र परिवारका सदस्यको आरोग्य, दीर्घायु तथा घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वास गरिन्छ ।

पौराणिक मान्यताअनुसार पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वतीलाई गौरी अर्थात् गौरा देवीका रूपमा पूजाअर्चना गरिन्छ । शिव–गौरीको स्थानीय लोकपरम्परा र संस्कृतिअनुसार गरिने पूजाआजा नै गौरा पर्वका रूपमा विकसित भएको मानिन्छ ।

अगस्ति ताराको उदयका आधारमा गौरा पर्व शुक्ल वा कृष्ण दुवै पक्षमा पर्ने गर्दछ । शुक्ल पक्षमा पर्ने गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा पर्ने गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ । दुवैलाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ मनाउने परम्परा छ ।

गौरा पर्वसँगै सुदूरपश्चिमका गाउँ–बस्तीमा चहलपहल बढेको छ । विभिन्न स्थानमा धार्मिक अनुष्ठानसँगै देउडा खेल, लोकगीत, डुस्को, धुमारी तथा अन्य मौलिक सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछन् । गौरा पर्वले सुदूरपश्चिमको धार्मिक आस्था, लोकसंस्कृति, पारिवारिक सम्बन्ध र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ ।

Facebook Comments Box
TOP
15 Shares