बेत्रावतीमा बाढीले पुरिएको घरबाट २३ शव फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोशी बाढीले पुरिएको एउटा घरबाट २३ जनाको शव फेला परेको छ ।

सोमबार गरिएको खोज तथा उद्धारका क्रममा घरको एउटै कोठाभित्र २१ वटा र घरको बाहिरी भागबाट थप दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ ।

गएको बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावतीस्थित तीनतले घर पुरेको थियो । बाढीबाट जोगिन घरको माथिल्लो तलामा बसेका मानिसहरू समेत बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

फेला परेका २३ वटै शवको पहिचान खुल्न सकेको छैन । प्रहरीले बेपत्ता व्यक्तिहरूको विवरणसँग शवको पहिचान मिलाउने तथा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

भीषण बाढीपछि बेत्रावती क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीले घर, सडक तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ ।

Facebook Comments Box
TOP
15 Shares