

त्रिशूली–नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण र डीएनए नमूना संकलन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवको पहिचान तथा व्यवस्थापन कार्य तीव्र पारिएको छ। हालसम्म नदीबाट संकलन गरिएका ३२१ शवमध्ये २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरिएको छ।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि सुरक्षाकर्मीले त्रिशूली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याएर संरक्षण गरिएको थियो। भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक परीक्षण, डीएनए तथा अन्य जैविक नमूना संकलन र अभिलेखीकरण सुरु गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार त्रिशूली र नारायणी नदीबाट हालसम्म ३२१ शव संकलन भएका छन्। तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्।
संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक र छ बालिका छन्। यस्तै, १२६ शवको पहिचान खुल्न सकेको छैन वा अवस्था स्पष्ट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पहिचान खुल्न नसकेका शव भविष्यमा पनि सनाखत गर्न सकिने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक पौडेलले बताए।
प्रहरीका अनुसार भदौ १३ गते ९६, भदौ १४ गते १०३ र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको थियो।
बाढीमा बेपत्ता भएकाहरूको खोजीका क्रममा नदी किनारबाट शव फेला पर्ने क्रम अझै रोकिएको छैन। प्रहरी उपरीक्षक पौडेलका अनुसार त्रिशूली र नारायणी नदीका विभिन्न क्षेत्रमा शव खोजी कार्य दैनिक रूपमा जारी छ।
शवको फरेन्सिक परीक्षण र डीएनए नमूना संकलनले पहिचान खुल्न नसकेका मृतकको सनाखत गर्न तथा आफन्तलाई शव बुझाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
बेपत्ताको खोजी तथा उद्धारमा सुरक्षाकर्मीको संख्या बढ्यो, १८ हजार ७०८ जना परिचालन
१ दिन अगाडि
950Views 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढीपहिरो तथा प्राकृतिक विपद्मा बेपत्ता भएकाहरूको खोजी र उद्धारलाई…





