प्रक्रियाभन्दा पीडित ठूलो : भोटेकोशी बाढीपहिरोमा राहत यात्राको अनुभव र सुधारका केही सुझाव

२०८३ भदौ १० गते नेपाल-चीन सिमावर्ती जिल्ला रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोले रसुवा, नुवाकोट,धादिङ ,गोर्खा लगायतका जिल्लाका भोटेकोसि आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍यायो। अचानक आएको विपद्ले घर, सडक, पुल, व्यवसाय तथा नागरिकका जीवनका आधारहरू तहसनहस बनायो। त्यसपछिका दिनमा बिहानदेखि रातिसम्म पीडितको उद्धार, राहत र स्वास्थ्य सेवाको तत्काल आवश्यकता झन् बढ्दै गएको छ ।

हामी भदौ सामाजिक महिला अभियान्ता सस्कृती पुरी ज्युको टिम म भद्रघले स्कुलका प्रिन्सिपल सुमन लामा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका काठमाडौं उपत्यका विशेष समितिका सचीव अरुण बस्नेत संयुक्त नागरिक पार्टीका सचिव सुभराज प्रजा त्यसैगरी सुरेस राई लगायतका अभियानताहरु सङसङै मिलेर ११ र १२ गते राहत संकलन तथा सहयोग अभियानमा सक्रिय रूपमा सहभागी भयौं र उक्त राहत संबंधित क्षेत्रमा पठाऔं बाकी काठमाडौं जिल्ला प्रशासन संग समन्वय गरेर प्रहरी बिपत्त व्यवस्थापन केन्द्र सामाखुसीम सेनाको गाडी मार्फत जम्मा गरियो ।
त्यसैगरी भदौ १३ गते, शनिबार, मेरो आफ्नै विशेष आह्वान,अनुरोध तथा पहलमा बिहान ८ बजेदेखि राहत संकलन गरियो । जसमा सहयोगी साथीहरू संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका महासचिव अर्जुन कुवर,काठमाडौं उपत्यका विशेष समितिका सचीव अरुण बस्नेत , भद्र घले स्कुलका प्रिन्सिपल सुमन लामा , सामाजिक अभियानता किरण अधिकारी लगायतका साथीहरूको निस्वार्थ सक्रियता धन्यवादका महत्त्वपूर्ण पात्र हुनुहुन्छ । राहत संकलनलाई सफल बनाउन विभिन्न व्यक्ति तथा सहयोगी मनहरूबाट संकलित खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि तथा अन्य अत्यावश्यक सामग्रीलाई स्वतस्फूर्त जम्मा गर्नु त्यतिकै महान हुनुहुन्छ ।
राहत संकलन लाई अत्यन्तै सहजीकरण गर्नुहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीज्यू र प्रसाशकिय अधिकृत सुजन बर्देवा
सँग आवश्यक समन्वय गरी करिबकरिब ११ वटा गाडीमार्फत सहरी विकासमा तथा बिपत्त व्यवस्थापन सामाखुसी जम्मा गरेर प्रभावित क्षेत्रतर्फ पठाउने व्यवस्था सहजीकरण गर्नुहुने सबैलाई धन्यवाद दिन चाहान्छु ।

यसरी राहत सामग्री संकलन गरेर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैनभन्ने चिन्तनसाथ राहत आफैँ प्रभावित क्षेत्रका नागरिकसम्म पुग्नुपर्छ भन्ने उद्देश्यले भदौ १४ गते, आइतबार, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि तथा उपचार सामग्रीसहित ३ वटा गाडी लिएर नुवाकोट हुँदै रसुवाको उत्तरगया क्षेत्रतर्फ प्रत्यक्ष रूपमा प्रस्थान गर्‍यौँ।

मसँगै मेरा मित्र किरण अधिकारी, डाक्टर अंकित झा, डाक्टर शोभित, डाक्टर सुशान्त, अभियानकर्मी रमेश शाह लगायत करिब १० जना चिकित्सकसहितको स्वास्थ्य टोली पनि यात्रामा सहभागी थियो। प्रभावित क्षेत्रमा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क स्वास्थ्य परीक्षण, औषधि तथा उपचार सेवा प्रदान गर्ने हाम्रो उद्देश्य थियो।

यो यात्रा केवल राहत सामग्री बोकेर गरिएको यात्रा थिएन; पीडितको अवस्था आफ्नै आँखाले हेर्ने, उनीहरूको वास्तविक आवश्यकता बुझ्ने र सकेसम्म प्रत्यक्ष सेवा गर्ने मानवीय प्रयास थियो। तर नुवाकोटको विदुर, त्रिशूली र ढुङ्गेधारा हुँदै अघि बढ्ने क्रममा देखिएको बाढीपहिरोको विनाश र हृदयविदारक दृश्यले मन भक्कानियो। पीडाको त्यो अवस्था शब्दमा व्यक्त गर्न कठिन थियो।

रसुवाको उत्तरगयातर्फ अघि बढ्दै गर्दा बाटो अवरोधका कारण नुवाकोटकै ढुकेर भञ्ज्याङबाट फर्किनुपर्ने बाध्यता आयो। प्रभावित नागरिकसम्म पुगेर सेवा गर्ने हाम्रो प्रयास तत्काल सफल हुन सकेन। राहत र स्वास्थ्य सेवा लिएर गएका हामीहरू बाटोमै फर्किनुपर्दाको पीडा पनि कम थिएन।

यही यात्राका क्रममा मैले एउटा महत्वपूर्ण कुरा प्रत्यक्ष रूपमा महसुस गरेँ—विपद्को समयमा राहत संकलन गर्नु जति महत्वपूर्ण छ, त्यो राहत सही समयमा सही ठाउँमा पुर्‍याउनु त्यसभन्दा पनि महत्वपूर्ण रहेछ। राहत व्यवस्थापनका क्रममा देखिएका अनुमति, समन्वय, ढुवानी र वितरणसम्बन्धी समस्याले आगामी दिनमा राहत प्रणालीलाई अझ छिटो, सरल, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता झन् गहिरोसँग महसुस गरायो।

राहत तथा उद्धारका क्रममा देखिएका समस्या र केही सुझाव।

मैले पहल गरेको राहत संकलन र हस्तान्तरण बारे कुरा सामान्य लाग्न सक्छ, किनकि यसभन्दा धेरै ठूलो सहयोग गर्ने थुप्रै व्यक्ति, संस्था र अभियानकर्मी हुनुहुन्छ। उहाँहरू सबैप्रति मेरो उच्च सम्मान छ। मैले यहाँ आफ्नो कामको प्रचार गर्न खोजेको होइन; राहत तथा उद्धारका क्रममा प्रत्यक्ष रूपमा देखे–भोगेका केही विषय सार्वजनिक बहसमा ल्याउन खोजेको हुँ।

राहत संकलनदेखि ढुवानी, अनुमति, समन्वय र वितरणसम्मका प्रक्रियामा समय लाग्दा वास्तविक पीडितसम्म राहत पुग्न ढिलाइ भएको मैले प्रत्यक्ष अनुभव गरेँ। सामान्य अवस्थामा केही घण्टाको ढिलाइ ठूलो कुरा नलाग्न सक्छ। तर विपद्को समयमा एक–दुई घण्टाको ढिलाइ पनि पीडित परिवारका लागि ठूलो पीडा बन्न सक्छ।

त्यसैले कसैलाई दोष लगाउने उद्देश्यले होइनकि, छिटोभन्दा छिटो राहत तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन सकियोस् भन्ने उद्देश्यले मेरो अनुभवका आधारमा निम्न सुझाव राख्न चाहन्छु:

१. राहत तथा उद्धारमा खटिने सरकारी निकाय, संघ–संस्था, स्वयंसेवक र अभियानकर्ताको अद्यावधिक सम्पर्क विवरण तयारी अवस्थामा राखिनुपर्छ।

२. राहतमा संलग्न संस्था तथा अभियानकर्ताको पहिचान गरी आवश्यक समन्वय, सहजीकरण र निगरानी गर्नुपर्छ।

३. कुन क्षेत्रमा कति नागरिक प्रभावित छन् र तत्काल के–के आवश्यक छ भन्ने विवरण स्थानीय तह तथा स्थानीय सम्पर्क व्यक्तिबाट तत्काल प्राप्त गर्ने व्यवस्था हुनुपर्छ।

४. राहत सामग्री संकलन भइसकेपछि अनुमति तथा कागजी प्रक्रियामा अनावश्यक ढिलाइ नगरी आपत्कालीन अवस्थामा तत्काल ढुवानी गर्ने व्यवस्था हुनुपर्छ।

५. कुन स्थानमा, कति राहत सामग्री र कसका लागि पठाइएको हो भन्ने स्पष्ट जानकारी रहने गरी एकीकृत सूचना तथा समन्वय प्रणाली बनाउनुपर्छ।

६. एकद्वार प्रणाली पारदर्शिता कायम गर्न, दोहोरो वितरण रोक्न र समन्वयका लागि आवश्यक छ। तर एकद्वारकै कारण राहत प्रभावितसम्म पुग्न ढिलाइ हुने अवस्था आउनु हुँदैन। अनुमति र समन्वय प्रक्रिया सकेसम्म छिटो र सरल हुनुपर्छ।

७. राहत वितरणमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सम्बन्धित संघ–संस्थाबीच प्रत्यक्ष समन्वय गरी वास्तविक पीडितसम्म राहत पुगेको सुनिश्चित गर्नुपर्छ।

 

विपद्को समयमा राहतको मूल्य केवल राहत सामग्रीमा हुँदैन; त्यो राहत पीडितसम्म कति छिटो पुग्यो भन्ने कुरामा पनि हुन्छ। पारदर्शिता आवश्यक छ। समन्वय आवश्यक छ। एकद्वार प्रणाली पनि आवश्यक हुन सक्छ। तर कुनै पनि प्रणालीको अन्तिम उद्देश्य पीडितलाई समयमै राहत पुर्‍याउनु हुनुपर्छ।

प्रक्रिया पीडितभन्दा ठूलो हुनु हुँदैन। कागजभन्दा मानवीय आवश्यकता ठूलो हुनुपर्छ। समन्वयको नाममा ढिलाइ होइन, समन्वयमार्फत छिटो सेवा हुनुपर्छ।

मैले गरेको अनुभव र सुझाव कसैको आलोचना गर्न होइन, यस्तो विपद्का बेला राहत, उद्धार र स्वास्थ्य सेवा अझ छिटो, सहज, पारदर्शी र प्रभावकारी बनाउन सकियोस् भन्ने उद्देश्यले राखेको हुँ। यस्तो विपद्को पीडामा साथ दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था, चिकित्सक, स्वयंसेवक, सुरक्षाकर्मी, अभियानकर्मी तथा सहयोगी मनहरूमा उच्च सम्मान र हार्दिक धन्यवाददिन चाहन्छु ।

पीडितको आवश्यकता नै पहिलो प्राथमिकता बनाऔँ। सकेसम्म छिटो पुगौँ र प्रभावकारी मानवीय सहयोग गरौँ।

दल मर्दन कामी

Facebook Comments Box
TOP
15 Shares