प्रधानमन्त्री शाहको नेतृत्वमा राष्ट्रसंघ महासभा जाने प्रतिनिधिमण्डल स्वीकृत, मिटरब्याज विधेयकलाई सैद्धान्तिक सहमति

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।

बैठकले मिटरब्याज नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मिटरब्याजका कारण पीडित हुने नागरिकको समस्या समाधान तथा अनुचित लेनदेन नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था गर्न विधेयक तर्जुमा अघि बढाइने भएको हो।

त्यसैगरी, सरकारले पाँच जिल्लाका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत गरेको छ। गरिबी पहिचान तथा लक्षित सरकारी कार्यक्रम कार्यान्वयनका लागि उक्त परिवारको सूची स्वीकृत गरिएको हो।

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णयसमेत गरेको छ। आयोगमा पदाधिकारी नियुक्तिसँगै शिक्षक छनोट तथा सिफारिससम्बन्धी कामलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा छ।

बैठकले प्रशासनिकतर्फ विनोदबहादुर कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव र उत्तरकुमार खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का यी निर्णयसँगै अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिनिधित्व, मिटरब्याज नियन्त्रण, गरिब परिवारको पहिचान तथा सार्वजनिक प्रशासन र शिक्षा क्षेत्रमा आवश्यक नियुक्ति तथा पदस्थापनलाई सरकारले प्राथमिकता दिएको देखिएको छ।

Facebook Comments Box
TOP
15 Shares