विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ।
नेपाली कांग्रेसको आह्वानमा बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तथा विपद् व्यवस्थापनका विषयमा विपक्षी दलहरूबीच साझा धारणा बनाउने विषयमा छलफल भइरहेको छ।
बैठकमा विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका साथै सर्वदलीय बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे छलफल भइरहेको बताइएको छ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा सहभागी छन्। नेकपा एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी सहभागी छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई बैठकमा सहभागी छन्।
प्रमुख प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएको छैन।
बैठकले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र सर्वदलीय बैठकबाट भएका निर्णय कार्यान्वयनका लागि सरकारलाई दबाब दिने विषयमा साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares