आज कुशेऔँशी : घरघरमा कुश भित्र्याउँदै, बाबुको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने परम्परा रहेको छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा ल्याएर राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता रहेको प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो। अन्य दिन उखेलिएको कुश भने सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता छ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीको सृष्टिसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको हो। त्यसैले कुशलाई धार्मिक अनुष्ठानमा अत्यन्त पवित्र वस्तुका रूपमा प्रयोग गरिन्छ।
कुशेऔँशीकै अवसरमा आज बाबुको मुख हेर्ने परम्परा पनि रहेको छ। छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर श्रद्धा, सम्मान र प्रेम प्रकट गर्दै बाबुको आशीर्वाद लिने गर्छन्।
बाबु दिवंगत भइसकेकाहरूले भने गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर दिवंगत पिताको नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने परम्परा छ। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराई आशीर्वाद लिएमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
दिवंगत बाबुको स्मृतिमा तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुने र कुल स्थिर हुने धार्मिक मान्यता रहेको छ। यस दिन गरिने दान तथा पुण्यकर्मले विशेष धार्मिक फल प्राप्त हुने विश्वासका कारण कुशेऔँशीलाई सनातन परम्परामा महत्वपूर्ण पुण्य पर्वका रूपमा लिइन्छ।
कुशेऔँशीले केवल धार्मिक अनुष्ठानलाई मात्र नभई बाबुप्रति श्रद्धा, पितृप्रति सम्मान र पुस्तान्तरण हुँदै आएको पारिवारिक संस्कारलाई समेत जीवन्त राख्दै आएको छ।

Facebook Comments Box
TOP
15 Shares