

जेन–जी सहिदको स्मृति कि विवादित पात्रको मञ्च ?

काठमाडौं । जेन–जी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा मंगलबार काठमाडौंको पुरानो संसद् भवन परिसरमा आयोजित स्मृति सभा विवादमा परेको छ। जेन–जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपालको संयुक्त आयोजनामा भएको ‘जेन–जी आन्दोलन २०८२’ स्मृति दिवस कार्यक्रम सहिद र घाइतेको योगदान सम्झने उद्देश्यले आयोजना गरिए पनि कार्यक्रम सकिएसँगै त्यसको मूल उद्देश्यभन्दा मञ्चमा देखिएका पात्र र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्ति विवादको केन्द्रमा पुगेको छ।
कार्यक्रममा गृहमन्त्री गुरुङले पुराना राजनीतिक दल तथा सञ्चारकर्मीलाई ‘सुध्रिन’ चेतावनी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै त्यसको आलोचना सुरु भएको छ। गृहमन्त्रीले यस्तो अभिव्यक्ति दिइरहँदा उनीसँगै मञ्चमा गेरुवस्त्रधारी विजय भण्डारी र श्रीनिवास आचार्यसमेत उपस्थित थिए। उनीहरूले गृहमन्त्रीको सम्बोधनका क्रममा ताली बजाउनुका साथै कार्यक्रममा मन्तव्यसमेत दिएका थिए।
जेन–जी आन्दोलनसँग प्रत्यक्ष रूपमा जोडिएका पात्रभन्दा राजावादी गतिविधि, धार्मिक विवाद तथा विभिन्न कानुनी प्रश्नका कारण चर्चामा आएका व्यक्तिलाई सहिद स्मृति दिवसको मञ्चमा स्थान दिइएको भन्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठेको छ।
विशेषगरी सहिदहरूको बलिदान र घाइतेहरूको योगदान स्मरण गर्न आयोजित कार्यक्रमको मञ्चमा धार्मिक प्रभाव हावी भएको देखिएको तथा विवादित पृष्ठभूमिका व्यक्तिहरूलाई प्रमुख स्थान दिइएको भन्दै कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाइएको छ।
गृहमन्त्री गुरुङको अभिव्यक्ति र कार्यक्रमको स्वरूपप्रति रास्वपाभित्रबाटै सार्वजनिक असन्तुष्टि प्रकट भएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सामाजिक सञ्जालमा संस्कृत उक्ति ‘अहङ्कारः विनाशस्य मूलम्’ लेख्दै अहंकार नै विनाशको मूल कारण हुने संकेत गरेका छन्।
त्यस्तै, रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले गृहमन्त्री गुरुङ र कानुनमन्त्री गौतम सहभागी कार्यक्रमका तस्बिर तथा दृश्यप्रति प्रतिक्रिया जनाउँदै ‘श्रव्य–कर्कस, दृश्य–बिझाउने’ टिप्पणी गरेका छन्। उनले ‘बदल्छौँ भन्नेहरू नै बदलिँदै त छैनौँ ?’ भन्दै आत्मसमीक्षाको प्रश्नसमेत उठाएका छन्।
रास्वपा सांसद डा. अमरेश सिंहले पनि विवादित धार्मिक व्यक्तिलाई जेन–जी सहिदहरूको मञ्चमा अगाडि राखिएको र मन्त्रीहरू पछाडि रहेको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्। उनले संविधान र समावेशिताको मर्म कमजोर पार्ने तथा देशका लागि काम गर्ने व्यक्तिहरूलाई पाखा लगाउने सन्देश दिन खोजिएको हो कि भन्ने प्रश्न गरेका छन्।
सिंहले सरकार आफ्नै निर्णयमा टिक्न नसकेको र लगातार विवादास्पद निर्णयतर्फ अघि बढिरहेको टिप्पणी गर्दै प्रश्न गरेका छन्, ‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?’
रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले त स्मृति दिवसको नाममा भइरहेको गतिविधिले आफूलाई ‘अवाक’ बनाएको प्रतिक्रिया दिएकी छन्। गत वर्ष भदौ २४ गते आगजनी गरिएको नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र अगाडि आयोजित कार्यक्रमको स्वरूपप्रति असन्तुष्टि जनाउँदै उनले सहिद र घाइतेको सम्मान गर्ने नाममा उनीहरूकै भावनामाथि अन्याय भइरहेको हो कि भन्ने प्रश्न उठाएकी छन्।धितालले गृहमन्त्री गुरुङसँगै विवादित पृष्ठभूमिका हिन्दुवादी धर्मगुरुको सहभागिता, कार्यक्रमका लागि निर्माण गरिएको मञ्च र सहिद परिवारको पीडालाई सम्बोधन गर्ने शैलीमाथि प्रश्न उठाएकी छन्।
उनको भनाइमा, जेन–जी आन्दोलनको आवाजलाई अगाडि बढाउने तथा सरकारका काममाथि निरन्तर प्रश्न उठाउनेहरूले समेत कार्यक्रमको स्वरूपप्रति प्रभावकारी हस्तक्षेप गर्न नसकेको अवस्था देखिएको छ।
धितालले पछिल्लो एक वर्षमा नेपाली समाजले अरूको पीडा र भावनालाई महसुस गर्ने क्षमता गुमाउँदै गएको टिप्पणी गर्दै आन्दोलनको मूल भावना स्मरण गराएकी छन्।
उनले जेन–जी आन्दोलन प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश राज्यसत्ताविरुद्ध उठेको स्मरण गर्दै अहिले त्यही आन्दोलनको स्मृति कार्यक्रममा प्रश्न उठाउने सञ्चारकर्मीलाई नै चेतावनी दिने अवस्था कसरी आयो भन्ने प्रश्न गरेकी छन्।
‘पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ?’ भन्दै उनले प्रश्न गरेकी छन्।
धितालले आन्दोलनका क्रममा अभिव्यक्ति स्वतन्त्रताको हननविरुद्ध आवाज उठाउनेहरू नै अहिले आलोचना र प्रश्न गर्नेहरूमाथि चेतावनी तथा धम्कीको भाषा प्रयोग गर्ने अवस्थामा पुगेको टिप्पणी गरेकी छन्।
उनले थप प्रश्न गरेकी छन्, ‘त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौँ हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ?’
गृहमन्त्री गुरुङतर्फ संकेत गर्दै धितालले सुधार अरूले मात्रै गर्नुपर्ने र आफूहरूले आत्मसमीक्षा गर्न नपर्ने प्रवृत्तिमाथि समेत प्रश्न उठाएकी छन्। अन्ततः उनले ‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?’ भन्दै सरकार र आन्दोलनसँग जोडिएका पक्षलाई आत्मसमीक्षाको आग्रह गरेकी छन्।
स्मृति सभाको उद्देश्य भने गत वर्षको जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झना र घाइतेहरूको योगदानको सम्मान गर्नु थियो। तर कार्यक्रमको मञ्च, वक्ता चयन र गृहमन्त्रीको राजनीतिक अभिव्यक्तिका कारण सहिदको बलिदानभन्दा कार्यक्रमको राजनीतिक तथा धार्मिक स्वरूप नै बहसको विषय बनेको छ।
जेन–जी आन्दोलनले उठाएका मूल प्रश्नमा अभिव्यक्ति स्वतन्त्रता, जवाफदेही शासन, निरंकुश प्रवृत्तिको विरोध र राज्य संयन्त्रमा सुधार प्रमुख थिए। त्यसैले आन्दोलनको स्मृति दिवसको मञ्च पनि त्यही मूल भावनामा केन्द्रित हुनुपर्ने आवाज उठेको छ।
सहिदहरूको बलिदानलाई राजनीतिक शक्ति प्रदर्शन, धार्मिक प्रभाव वा विवादित पात्रहरूको प्रचारको माध्यम बनाउनु हुँदैन भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ। सहिदका परिवार र घाइतेहरूको पीडालाई केन्द्रमा राखेर आयोजना गरिएको भनिएको कार्यक्रम अन्ततः उनीहरूकै बलिदानको अर्थ र आन्दोलनको मूल मर्मबारे नयाँ बहसको कारण बनेको छ।
एक वर्षपछि जेन–जी आन्दोलनको राजनीतिक र वैचारिक दिशा कता जाँदैछ भन्ने प्रश्नसमेत यही विवादले सतहमा ल्याएको छ। सहिदको स्मृति केवल औपचारिक कार्यक्रम र मञ्च सजावटमा सीमित रहने कि उनीहरूले उठाएका प्रश्न, स्वतन्त्रता र जवाफदेहिताको मागलाई व्यवहारमै स्थापित गर्ने भन्ने परीक्षा अब सरकार र आन्दोलनसँग जोडिएका सबै पक्षसामु खडा भएको छ।
समाज
थप सामाग्री-
युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर मनाइँदै
-
आज कुशेऔँशी : घरघरमा कुश भित्र्याउँदै, बाबुको मुख हेर्ने पर्व मनाइँदै
-
आज भदौ २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
भूकम्पले हल्लायो उपल्लो मुस्ताङ, ५ सयसम्म घर चर्किए, ऐतिहासिक दरबारदेखि विद्यालयसम्ममा क्षति
-
विपक्षी दलको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : आज हातमा आएको काम समयमै सम्पन्न हुनेछ। नयाँ जिम्मेवारी…





