प्रतिनिधिसभा बैठक आज : सञ्चय कोष र कानुन आयोगसम्बन्धी विधेयकमाथि छलफल हुँदै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा समसामयिक संसदीय विषयमा छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैबीच, प्रतिनिधिसभाअन्तर्गत आज विभिन्न छवटा संसदीय समितिका बैठकसमेत बस्दैछन्। ती समितिका बैठकमा आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक र संसदीय समितिका गतिविधिले विधेयक निर्माण, कानुन संशोधन तथा सरकारका कामकारबाहीमाथिको संसदीय निगरानीलाई थप अगाडि बढाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares