कारागारभित्र १० लाख नगद र फलामे रडको थुप्रो, मोरङको सुरक्षा संयन्त्रमाथि प्रश्न

विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा गरिएको खानतलासीका क्रममा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद, दुई थान मोबाइल, आठ वटा फलामे रड, बेल्चा र फलामका पाइप बरामद भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार गरेको खानतलासीका क्रममा ठूलो परिमाणमा नगदसहित प्रतिबन्धित तथा शंकास्पद सामग्री बरामद गरेको हो।
मोरङ प्रहरीका अनुसार ‘बी’ ब्लकमा नाइके तथा चौकीदार समूहले प्रभाव जमाउँदै अन्य कैदीबन्दीलाई नियन्त्रणमा राख्ने र यातना दिने गरेको गुनासो आएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो। पीडित कैदीबन्दीहरूले चलाखीपूर्वक ३७ जनालाई ब्लकबाट बाहिर निकालेर प्रहरीको जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई ब्लकभित्र प्रवेश गरी विस्तृत खानतलासी गर्न सहज भएको बताइएको छ।
खानतलासीका क्रममा कोठा नम्बर १ मा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक बस्ने स्थानबाट मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, कोठा नम्बर २ मा तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्दै आएको स्थानबाट आठ वटा फलामे रड फेला परेका छन्।
एकै ब्लकबाट १० लाखभन्दा बढी नगद बरामद हुनु घटनाको सबैभन्दा गम्भीर पक्ष बनेको छ। उक्त रकम कहाँबाट आयो, कसको हो र के प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान केन्द्रित हुने देखिएको छ। साथै, मोबाइल, फलामे रड, बेल्चा तथा फलामका पाइपजस्ता सामग्री कारागारको सुरक्षा घेरा पार गरेर भित्र कसरी पुगे भन्ने प्रश्न पनि उत्तिकै गम्भीर बनेको छ।
५२९ जना कैदीबन्दी रहेको ‘बी’ ब्लकमा यति ठूलो रकम, मोबाइल तथा फलामे सामग्री भेटिनुले नियमित सुरक्षा जाँच, निगरानी र कारागार प्रशासनको कार्यशैलीमाथि समेत प्रश्न उठाएको छ। कारागारभित्र प्रतिबन्धित सामग्री पुग्न सुरक्षा संयन्त्रकै कमजोरी वा कुनै व्यक्तिको मिलेमतो भएको हो कि होइन भन्ने विषय अब अनुसन्धानको महत्वपूर्ण पाटो बनेको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले प्रतिबन्धित सामग्री कसरी र कसले कारागारभित्र पुर्‍यायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्।
प्रहरीको आगामी अनुसन्धानले बरामद सामग्रीमा मात्र सीमित नभई नगदको स्रोत, मोबाइलबाट भएका सम्पर्क तथा कारोबार, फलामे रडको प्रयोजन र कारागारभित्र सामग्री पुर्‍याउन सहयोग गर्ने सम्भावित व्यक्ति वा समूहसम्म पुग्नुपर्ने देखिएको छ।
कारागारजस्तो संवेदनशील सुरक्षा क्षेत्रभित्र ठूलो रकम, मोबाइल र सम्भावित हतियारका रूपमा प्रयोग हुन सक्ने फलामे सामग्री भेटिनुले कारागार प्रशासनको आन्तरिक सुरक्षा प्रणालीमाथि गम्भीर पुनरावलोकन आवश्यक रहेको संकेत गरेको छ।

Facebook Comments Box
TOP
15 Shares