रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै रिले अनसन सुरु, ‘बेटी-रोटी’को सम्बन्ध भाषणमा मात्र सीमित भएको सीमाबासीको आरोप

रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ९ रामपुर खापमा बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयबासीले बिहिवारदेखि  रिले अनसन तथा धर्ना प्रदर्शन सुरु गरेका छन्। पूर्व निर्धारित कार्यक्रम अनुसार नेपाल सिमाना सँघर्ष समिति, रामपुर खापको अगुवाइमा हिजो बिहीबार दिउँसो ४ बजेदेखि सीमा क्षेत्रमा अनसन सुरु गरिएको हो।आन्दोलनको पहिलो दिन नेपाल सिमाना संघर्ष समिति रामपुर खापका अध्यक्ष एवं पूर्व शिक्षक मो. ताजामुल हक, पूर्व गा.वि.स. उपप्रधान जगत लाल यादव, र नेपाल जनता पार्टीका सांसद प्रत्यासी साहेब साह कानु लगायतको नेतृत्वमा औपचारिक रूपमा रिले अनसन कार्यक्रमको सुरुवात गरिएको छ।सीमाबासीहरू यो नाका खुलाउनका लागि विगत वर्षहरूदेखि नै पटक-पटक आमरण अनसन र धर्नामा बस्दै आएका छन्। आन्दोलनका क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचित जनप्रतिनिधिहरूले नाका सुचारु गराउने आश्वासन बाँडे पनि अहिलेसम्म व्यावहारिक रूपमा कुनै कार्यान्वयन नभएको आन्दोलनकारीको गुनासो छ।रामपुर खाप छोटी भन्सार नाका गौर र बंकुल भन्सारको मध्य भागमा अवस्थित छ, जहाँबाट भारतीय बजार निकै नजिक पर्दछ। यस क्षेत्रका अधिकांश बासिन्दाको भारतसँग परापूर्वकालदेखि वैवाहिक र पारिवारिक (बेटी-रोटी) सम्बन्ध रहेको छ। तर, नाका बन्द हुँदा र आवतजावतमा कडा बन्देज लगाइँदा ऐतिहासिक ‘बेटी-रोटी’ को सम्बन्ध हिजोआज राजनीतिक भाषण र भनाइमा मात्र सीमित हुन पुगेको स्थानीयले दुखेसो पोखेका छन्।आन्दोलनकारीहरूले केही स्वार्थी सरोकारवाला तत्वहरूको मिलेमतोमा सीमा नाका बन्द गराई तस्करीलाई प्रश्रय दिने कार्य भइरहेको गम्भीर आरोप समेत लगाएका छन्। सर्वसाधारणलाई सास्ती दिएर अवैध कारोबार फस्टाउन दिने कृत्य तत्काल बन्द गरी छोटी भन्सार सुचारु नगरिएसम्म आन्दोलन जारी राख्ने सँघर्ष समितिले चेतावनी दिएको छ।

Facebook Comments Box
TOP
15 Shares