‘हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ : आइजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, वैज्ञानिक र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आइजीपी कार्कीले सवारी साधनको बीचमा जोखिम मोलेर प्रहरी उभिई हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्ने परम्परागत अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले ट्राफिक व्यवस्थापनमा एआईसहितका आधुनिक प्रविधि र स्मार्ट सीसीटीभीको प्रयोग बढाउँदै वैज्ञानिक तथा व्यवस्थित प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

‘सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्छ,’ आइजीपी कार्कीले भने।

बढ्दो जनसंख्या, तीव्र सहरीकरण र सवारी चापका कारण काठमाडौंमा ट्राफिक व्यवस्थापनसँगै फोहोरमैला, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले स्थानीय तह र प्रहरीबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

आइजीपी कार्कीले फुटपाथ व्यवस्थापन, पार्किङ तथा आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउन महानगरपालिकासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए। नागरिकले अवरोधरहित रूपमा फुटपाथ प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरपालिकाले गरिरहेको कामको समेत उनले प्रशंसा गरे।

नेपाल प्रहरीसँग भौतिक संरचना निर्माणलगायतका विषयमा सहयोग र समन्वयका लागि ७५३ वटै स्थानीय तहलाई पत्राचार भइरहेको जानकारी दिँदै आइजीपी कार्कीले स्थानीय तहले आवश्यकता अनुसार प्रहरीका लागि जग्गा, भवन, सवारीसाधन, विपद् उद्धार सामग्री तथा सीसीटीभी जडानमा सहयोग गर्नुपर्ने बताए।

उनले आगामी दिनमा महानगरपालिका र नेपाल प्रहरीले संयुक्त योजना बनाएर सहरी सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् उद्धार तथा नागरिक सेवाका क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए।

Facebook Comments Box
TOP
15 Shares