रास्वपाको केन्द्रीय सदस्य र प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गर्ने युवक पक्राउ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को सचिवालय सदस्य भएको दाबी गर्दै विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थाको अनुगमन गर्ने एक युवक पक्राउ परेका छन्।
झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय तथा शैक्षिक संस्थामा धम्कीपूर्ण शैलीमा प्रस्तुत हुँदै दबाब दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार विश्वकर्माले आफू रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको सचिवालय सदस्य रहेको दाबी गर्दै सरकारी कार्यालयको अनुगमन गर्ने गरेका थिए। उनको दाबीपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनका लागि सरकारी सवारीसाधनसमेत उपलब्ध गराएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ।
सरकारी गाडी प्रयोग गरेर विभिन्न कार्यालयमा अनुगमनका लागि पुगेका विश्वकर्मा आफ्नै गाउँपालिका हल्दिबारी पुगेका थिए। त्यहाँबाट फर्किएपछि उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको तथा प्रधानमन्त्रीको सचिवालयमा समेत आबद्ध नरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार विश्वकर्मा आफूलाई रास्वपाको नेता भएको बताउँदै गाउँपालिकाको कार्यालयमा पुगेका थिए। सरकारी नम्बर प्लेटको गाडीमा आएका उनले पालिकाको विकास निर्माणका विषयमा चासो राखेको अध्यक्ष लिङ्देनले बताए।
‘उहाँ गाउँकै भाइ हुन्। पहिले पनि आउँथे। आफू रास्वपाको नेता भएको छु भनेपछि गाउँको विकासमा सहयोग गर्नुपर्छ भनेको थिएँ,’ अध्यक्ष लिङ्देनले भने, ‘अहिले सबै जेनजी नेता छन्, अरू विषयमा मलाई जानकारी छैन।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएको आरोपमा विश्वकर्मालाई सोमबार पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको जानकारी दिए।
प्रहरीले विश्वकर्माले झुटो परिचय दिएर कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्‍याएको भए प्रहरीमा सम्पर्क गरी जानकारी गराउनसमेत आग्रह गरेको छ।
‘थप अनुसन्धान भइरहेको छ। कसैलाई हानिनोक्सानी पुर्‍याएको भए निवेदन दिन आग्रह गरेका छौं,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘सरकारी गाडी प्रयोग गरेको विषयमा पनि अनुसन्धान भइरहेको छ।’
विश्वकर्माले आफूलाई रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको सचिवालय सदस्यका रूपमा प्रस्तुत गर्दै सरकारी संयन्त्रको पहुँच प्रयोग गरेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares